• १३ साउन २०८१, आइतबार

माझी समुदायले धूमधाम मनाए लदिपूजा (फोटोफिचर)

blog

माझी समुदायले नदी किनारमा लदिपूजा गर्दै । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, फागुन १६ गते । माझी समुदायको मुख्य पर्व लदिपूजा अर्थात कोशीपूजा गरेर धनकुटाका माझी समुदायले धूमधामका साथ मनाएका छन् । प्रत्येक र्षवको फागुन महिनाको तेस्रो मङ्गलबार पहाडी माझी समुदायमा आफ्नो महत्वपूर्ण पर्व लदिपूजा गर्ने गरेका छन् ।  


पछिल्लो समय लोप हुँदैगएको लदिपूजा धनकुटाको कुशेटारका माझी समुदायले मङ्गलबार धूमधामसाथ मनाएका छन् । अल्पसङ्ख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायको परापूर्वकालदेखि खोलाको किनारमा माछा मार्ने, डुङ्गा (नाउ) मा राखि मानिसलाई नदी तारिदिने काम गर्थे । उनीहरु सँधै खोला तथा नदीको नजिक बस्ने, त्यसैमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको स्थानीय पञ्चबहादुर माझी बताउनुहुन्छ । 

लदिपूजा गर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचित पुर्ख्याैली पेशा नदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास छ । साथै, नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता छ । 


वर्षातको समयमा नदीले वर्षेनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति गरिरहँदा त्यस्तो कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नहोस् भनेर नदीको पूजा गरिँदै आएको चतुरबहादुर माझीले बताउनुभयो । 

तर पछिल्लो समय सडक निर्माणसँगै नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने, डुङ्गा (नाउ) मा मानिसलाई नदी तार्ने काम बन्द भएपछि लदिपूजा पनि बन्द भएको थियो । द्वन्द्वकालमा आएको समस्याका कारण नदीमा लदिपूजा हुन सकेको थिएन । २२ वर्षपछि कुशेटारका माझी समुदायका युवाको सक्रियतामा यो पूजा गरिएको स्थानीय नवीन माझीले बताउनुभयो । 


धनकुटाका अरुण तमोर किनारसहित विभिन्न खोला किनारमा माझी समुदायको बसोबास छ । जिल्लाका सबै स्थानका माझी समुदायले यो पर्व पूजा गरी मनाएका छन् ।