• १३ साउन २०८१, आइतबार

तस्बिरमा ग्याल्पो ल्होसार

blog

ग्याल्पो ल्होसारको अवसरमा बौद्धमा दर्शन गर्दै शेर्पा समुदायका युवा युवती । तस्बिर: केशब गुरुङ

काठमाडौं, फागुन ९ गते । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन बौद्ध धर्मावलम्बी शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछ ।

नयाँ वर्षका रूपमा आज २१५० औँ ग्याल्पो ल्होसार मनाउदैछन्  । ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । 

मुसाबाट सुरु हुने वर्ष बराह वर्षमा पुगेर सकिन्छ । आजदेखि बाघ वर्ष समाप्त भएर खरायोको वर्ष सुरु भएको छ । ग्याल्पो ल्होसार मनाउनेले ल्होसार सुरु हुनु पूर्व एक महिना अगाडि नै शुभ साइत हेरेर ल्होसारको सगुनको लागि चाहिने जाँड (सगुन) पकाउने चलन छ । त्यसैगरी १५ दिन अगाडि सानो गमलामा नयाँ पालुवाका लागि गहुँ, जौ, मकै, उवा आदिको बिउँ राखेर च्याङमा अर्थात् जमरा उमारिन्छ ।

यसरी उम्रेको नयाँ पालुवालाई ल्होसारको दिन नयाँ सालको नयाँ बालीको रूपमा पूजाकोठामा राखिन्छ । यसका साथै घर गुम्बा, तीर्थस्थल र चौतारा सफासुग्घर गरेर रङरोगन गर्ने, घर र अग्ला डाँडामा ध्वजापताका टाङ्ने  गरिन्छ । 

यो पर्व सुरुमा हिमाली क्षेत्रमा बस्ने बौद्ध धर्मावलम्बीले मात्र मनाउने भए पनि अहिले देशका विभिन्न भागमा बसाइँ सरेर पुगेका उक्त समुदायका मानिसले यो पर्व मनाउने गर्दछन् । यो पर्वलाई शेर्पा समुदायको पर्व भनेरसमेत चिनिन्छ । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।