काठमाडौं, फागुन ५ गते । मानव अधिकार तथा शान्ति समाजको २४ औँ र २५ औँ राष्ट्रिय परिषद् बैठकद्वारा पारित नीति कार्यान्वयन सम्बन्धमा देशव्यापी अभियान प्रारम्भ भएको छ ।
यस क्रममा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार, महिला अधिकार : मानव अधिकार, विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज र अधिकारमुखी संस्कृतिलगायतका विषयमा केन्द्रित रही प्रदेश १ का ८ जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सभापति रामकृष्ण बरालले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुभएको अन्तरक्रिया कार्यक्रमहरूमा शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनाल, पूर्व सभापति उत्तम पुडासैनी, प्रदेश १ सचिव लक्ष्मी नारायण मिश्र, केन्द्रीय सदस्य ज्ञानेन्द्र निरौला, काठमाडौं शाखा सभापति भगवान् पुडासैनीलगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमहरूमा शान्ति समाजद्वारा तयार गरिएको ४ पृष्ठको जानकारी पत्र प्रस्तुत गरिएको थियो भने राजनीतिक समाज, नागरिक समाजलगायत विभिन्न क्षेत्र र पेसागत संस्थाका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गत माघ २४ गते सुनसरी शाखा सभापति डा. विकास साहको सभापतित्वमा २५ गते झापा शाखा सभापति सुशीला रिजालको, २६ गते रामकृष्ण बरालको सभापतित्वमा २७ गते पाँचथर शाखा सभापति क्षोमाया तामाङ, २८ गते धनकुटा सभापति हरि लम्जेल र तेह्रथुम शाखा उपसभापति डिल्लीराम रेग्मी, २९ गते सङ्खुवासभा शाखा उपसभापति निर्मला गुरुङ र फागुन १ गते मोरङ शाखा सभापति प्रा.डा. जीवन ढकालको सभापतित्वमा पहिलो चरणको अन्तरक्रिया इटहरी, चारआली, इलाम, फिदिम, धनकुटा, म्याङ्लुङ, खाँदवारी र विराटनगरमा कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो र तेस्रो चरणमा गरी ३५ जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।
यसैगरी, टर्की र सिरियामा हालै आएको भूकम्पका कारण जीवन गुमाउने हजारौँ नागरिकप्रति श्रद्धाञ्जली एवम् चीर शान्तिको कामनासहित मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले माघ २८ गते साँझ शान्ति स्तुपा बौद्ध अगाडि मैनबत्तीसहित मौन प्रदर्शन गरेको थियो । त्यस्तै, तेह्रथुम शाखाले म्याङ्लुङमा र सङ्खुवासभा शाखाले खाँदबारीमा सोही सन्दर्भमा कार्यक्रम गरेका थिए ।