• १७ वैशाख २०८२, बुधबार

प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूको भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, फागुन ४ गते । सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । 

बिहीबार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्तरूपमा प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट गरेका हुन् । भेटमा आयोगका अध्यक्षहरूले आ–आफ्नो आयोगमा भएका समस्याहरू प्रधानमन्त्री समक्ष राखेका थिए । 

भेटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्री समक्ष राखेको बताउनुभयो । उहाँले आयोगहरूमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सातवटै आयोगका अध्यक्षहरू महिला, दलित, समावेशी, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम सातवटै आयोगका अध्यक्षहरू सँग सम्माननीय प्रधानमन्त्री समक्ष भेट गरी उहाँलाई हामीले शुभकामना, बधाई सँगसँगै जुन आयोगका समस्याहरू छन् । संवैधानिक आयोगको रूपमा समुदायका आयोगहरू जुन २०७२ सालको संविधानले दिएको तर अत्यन्त अधिकारविहीन र स्रोत, साधनको अवस्था अत्यन्त न्यून भएको कारणले ती सबै समस्याहरू हामीले प्रधानमन्त्रीज्यु समक्ष राख्यौँ ।’’

उहाँले भन्नुभयो, ‘‘हाम्रो कर्मचारीको दरबन्दीको कुरा छ । समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरू गठन गरिएको छ त्यसको लागि पर्याप्त स्रोत, साधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने तर त्यो एकदमै न्यून भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्याहरू प्रधानमन्त्री समक्ष राख्यौँ ।’’

आयोगका अध्यक्षहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरूलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिबद्धता गर्नुभएको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताउनु भयो ।