• १३ साउन २०८१, आइतबार

‘लाटोकोसेरो महोत्सव’ ले माघी होमस्टेको प्रवर्धन हुने विश्वास

blog

कैलालीको घोडाघोडी–४ स्थित माघी होमस्टे । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य 

घोडाघोडी (कैलाली), माघ १५ गते । यही माघ २० र २१ गते माघी होमस्टे गाउँमा दसौँ लाटोकोसेरो महोत्सव हुनेभएपछि कोरोनाले थला परेको होमस्टे (घरबास) को प्रचार तथा प्रवर्धन हुने विश्वास लिइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका –४ माघी गाउँमा रहेको १५ घर परिवार मिलेर २०७३ सालमा माघी होमस्टे सञ्चालनमा ल्याएका थिए । स्थापना भएको छोटो समयमै होमस्टेमा चहलपहल बढ्दै थियो । तर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण होमस्टे सुनसान भएको स्थानीय बताउँछन् । 

माघी होमस्टे घर नं. ९ का मानबहादुर चौधरीले होमस्टे सञ्चालनका लागि चरा संरक्षण नेटवर्कले सहजीकरण र सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो नजिकै घोडाघोडी ताल छ, थरीथरीका चराहरूको बसोबासले घोडाघोडीको महत्त्व छ, वातावरण संरक्षण, पर्यटन विकासका साथै आयआर्जनका लागि होमस्टे सञ्चालनमा ल्याएका हौँ ।’

लाटोकोसेरो महोत्सव आफ्नै गाउँमा हुन थालेपछि अहिले माघी गाउँमा पर्यटकको चहलपहल हुन थालेकोमा होमस्टे सञ्चालकहरूमा उत्साह छाएको छ । पर्यटकलाई खाने बस्ने व्यवस्थापनमा जुटेका स्थानीय सीताराम चौधरीले पर्यटक आउनेक्रम सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजमात्र एक गाडी पर्यटक आउनुभएको छ, उहाँहरूको आरामदायी बसाई र खानपिनका लागि हामी कुनै कमी नदिने हिसाबले जुटेका छौँ ।’ सीतारामका अनुसार १५ घर होमस्टेमा ७० जना पर्यटकलाई बसोबासको व्यवस्था मिलाइएको छ । 

महोत्सवका लागि भनेर होमस्टेमा बसोबासको प्याकेजसहित खानाको परिकारको शुल्क विवरण तोकिएको छ । सीतारामले होमस्टेमा प्याकेजमा एक दिनको आठ सय र सात सय राखेको बताउनुभयो । उहाँले प्याकेजभित्र स्थानीय खानाको स्वादसहित होमस्टेको आनन्द लिन सकिने उल्लेख गर्नुभयो ।

घोडाघोडी तालदेखि पाँच सय मिटर पश्चिम, महेन्द्र राजमार्गदेखि पाँच किलोमिटर उत्तर  लागेपछि माघी होमस्टे पुगिन्छ । बजारको कोलाहल र व्यस्त जीवनदेखि टाढा एकान्तमा स्थानीय परिवेशमा थारु परिकारको स्वाद लिँदै थारु सांस्कृतिक मौलिकतामा रमाउन सकिने ठाउँ हो ‘माघी होमस्टे’ (घरबास) । 

वातावरण संरक्षण, ग्रामीण पर्यटन र आयआर्जनसँग जोडिएको घरबास कार्यक्रम माघीमा सञ्चालनमा आएपछि काठमाडौं लगायत जिल्ला बाहिरका मानिस कामका सिलसिलामा त्यस क्षेत्रमा पुग्दा थाहा पाउने जति एकचोटी माघी घरबासको स्वाद लिन पुग्ने गरेको संञ्चालकहरु बताउँछन् । 

होमस्टे नजिकै घोडाघोडी ताल र सामुदायिक वन छ । चरा अवलोकनका दृष्टिकोणले  पनि माघी होमस्टेको महत्त्व रहेको चरा संरक्षण सङ्घका फिल्ड म्यानेजर हिरुलाल डंगौराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घोडाघोडी चराहरूको वासस्थानका लागि महत्त्वपूर्ण क्षेत्र हो, माघी होमस्टे नजिकै चरा अवलोकन गर्न सकिन्छ, २०७८ फागुनमा प्रदेश सरकारले घोडाघोडीलाई चरा आरण्य (बर्ड सेन्चुरी) केन्द्र घोषणा गरेको छ, यो हुनमा माघी होमस्टेको पनि सहयोग रहेको छ ।’ 

लाटोकोसेरो महोत्सवले माघी होमस्टेलाई आर्थिक सहयोग गर्नुका  साथै घोडाघोडी बर्ड सेन्चुरीलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न मद्दत पुग्ने डंगौराले विश्वास व्यक्त गर्नुभयो ।