• ६ जेठ २०८१, आइतबार

गोरखापत्र बहुउद्देश्यीय सहकारीको साधारणसभा

‘सहकारीले सहकार्य र समन्वय बढाउँछ’ : कार्यकारी अध्यक्ष सुवेदी

blog

तस्बिरहरू –मनाेजरत्न शाही ।

गोरखापत्र अनलाइन

इन्द्रायणी पार्क (काठमाडौँ), पुस ३० गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सहकारीले सहकार्य र समन्वय बढाउन महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ ।

गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले सहकारी संस्था जीवन्त ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष सुवेदीले सहकारीको एकताको ऊर्जालाई संस्थानको विकासमा लगाउन पनि आग्रह गर्नुभयो ।

यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सहकारीले देशको समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुका साथै नेतृत्व विकास र सामाजिकीकरणमा पनि सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो ।

महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘सहकारीले आयव्ययको मात्रै ज्ञान सिकाउँदैन, यसको सामाजिक रूपान्तरणमा पनि सहयोग पुर्‍याएको छ ।’

संस्थान सञ्चालक समितिका सदस्य तथा सहकारीका पूर्वअध्यक्ष राजुकुमार महतले सहकारीका प्रतिवेदनहरूमाथि गहन छलफल गरेर पारित गर्नु राम्रो हुने सुझाव दिनुभयो ।

कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले सहकारीमा आबद्ध सदस्यका उत्कृष्ट अङ्क ल्याउने छोराछोरीलाई नगद पुरस्कारबाट सम्मानित गर्नुभयो ।

सम्मानित हुने मेधावी विद्यार्थीहरूमा निरज यादव, मृदुला ढुङ्गाना, प्रणित शाक्य, अभिजोन ढुङ्गाना, स्पन्दन उपाध्याय, निरु श्रेष्ठ र सुविज्ञ कार्की हुनुहुन्छ ।

सहकारीका अध्यक्ष दीपक पौडेलले आफ्नो चारवर्षे कार्यकालमा गरेका कार्यहरूको विवरण प्रस्तुत गर्नुभयो ।

दुई लाख ६० हजार ७४६ रुपियाँ नाफा

यसैगरी, सचिव विमला घिमिरे, कोषाध्यक्ष इन्दिरा पाण्डे र अमिरमैयाँ रञ्जितले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कुल ३८० सदस्य रहेको यस सहकारीमा असार मसान्तसम्म एक करोड ५९ लाख बचत सङ्कलन भएको छ ।

त्यस्तै एक करोड ९४ लाख लगानी गरेको र दुई लाख ६० हजार ७४६ रुपियाँ नाफा आर्जन गरेको छ ।

अध्यक्ष जोशीको नेतृत्वमा कार्यसमिति चयन

सहकारीको चारवर्षको लागि पुष्पराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

उपाध्यक्षमा वसन्ता मल्ल शर्मा र नन्दलाल तिवारी, सचिवमा विमला घिमिरे, कोषाध्यक्षमा माया आचार्य निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा बोमबहादुर खड्का, कृष्णप्रसाद भण्डारी , श्यामकुमार थापा, विनोद अर्याल, यशोदा खनाल र प्रकाश मैनाली रहनुभएको छ ।

लेखा सुपरिवेक्षण समितिमा राधा चालिसे संयोजक र अमिरमैया रन्जित र लालबहादुर कुमार सदस्य हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक जयदेव भट्टराईले प्रमाणपत्र प्रदान गर्नुभयो । नवनिर्वाचित अध्यक्ष जोशीले सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तस्बिरहरू –मनाेजरत्न शाही ।