काठमाडौँ, पुस १७ गते । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।
सो प्रणालीको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । साथै देशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भूभागमा हुस्सु–कुहिरो लागेको अवस्था छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकतम तापक्रम १५ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस छ ।