• १९ वैशाख २०८१, बुधबार

खुला मौसममा पूर्वी परिदृश्य (फोटो फिचर)

blog

नारायण तुम्बापो

फिदिम, पुस १३ गते । हिउँदे खुला मौसमको पूरापूर घुम्टो खोलिएको बेला नेपालको सुदूर पूर्वी परिदृश्य बिछट्टै मनमोहक देखिन्छ । पूर्वी पहाडको जति माथिल्लो उचाइमा चढिन्छ उति टाढा–टाढाका धेरै सुन्दर परिदृश्य देख्न पाइन्छ । 

यस्तो खाले प्रकृतिले नै व्यवस्था गरिदिएको ‘भ्यू टावर’ भारतसँगको सीमा क्षेत्र पाँचथर, इलामका सन्दकपुर, चारराते चउर, फालोट सेरोफेरो पुग्नुपर्छ । जहाँबाट देखिइने प्राकृतिक सौन्दर्यले धेरै आह्लादित होइन्छ । यी क्षेत्र मुख्यगरी रोमाञ्चक सूर्योदयको नजरपान गर्न पाइने आकर्षक गन्तव्य स्थलका रुपमा विगतदेखि नै चर्चित छन् । 


यीनै क्षेत्रले उत्तरी कञ्चनजङ्घा, कुम्भकर्ण, मकालुलगायतका मनोरम हिम शृङ्खला पनि देखाउछन् । यहाँबाट देखिने हिमालले आउ मलाई हेर्न भन्दै आह्वान गरिरहे झैं मिठो आभास हुन्छ । यहाबाट सयौं पहाडी थुम्काथुम्कीको शोभा पनि देख्न पाइन्छ । पाँचथर, इलाम, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटाका धेरैखाले पहाडी परिदृश्य अवलोकन गर्न सकिन्छ । 


चौंरी चर्ने सैलुङ्गे क्षेत्र सन्दकपुर, चारराते, फालोटको अर्को मनमोहक पक्ष हुन् । यहाँ चौरीका बथानसँग खुबै रमाउन पाइन्छ । सन्दकपुर, चारराते, फालोटबाट नेपालका मोहक परिदृश्य हेर्न वर्षेनी सयौं देशी–विदशी पर्यटक आउँछन् । यसबाट भारतीय पक्षले गजबको आम्दानी गरिरहेको अवस्था छ । नेपाल पक्षबाट पर्यटन प्रवर्धन नहुँदा नेपाली लाभान्वित हुनबाट वञ्चित हुनुपरिरहेको छ ।