• १३ साउन २०८१, आइतबार

नेपाली समालोचनामा नवीन सिद्धान्तहरूको ग्रन्थ प्रकाशन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ११ गते । नेपाली समालोचनाको इतिहासमा विगत ६ वर्षदेखिको श्रम, साधना र समर्पणबाट सर्वाधिक बृहत् ग्रन्थ  ‘रत्न बृहत् नेपाली समालोचना’ भाग (३, सिद्धान्त र सिद्धान्तनिष्ठ प्रायोगिक खण्ड) को प्रकाशन भएको छ ।  प्रा. राजेन्द्र सुवेदी र प्रा.डा. लक्ष्मणप्रसाद गौतमको सम्पादक रहेको यो ग्रन्थ रत्न पुस्तक भण्डार, काठमाडौंले प्रकाशित गरेको हो । 

अघिल्ला दुई खण्डहरू अग्रपृष्ठसहित क्रमशः ६४८ र ५४४ पृष्ठ रहेकामा यो तेस्रो खण्ड ७५४ पृष्ठ छन् । समालोचनाको सामूहिक सङ्कलन–सम्पादनमा यसलाई बृहत् आकारको ग्रन्थ मानिन्छ । 

अघिल्लो र पछिल्लो पुस्ताका गरी चौँतीसजना समालोचकहरूका एक एक समालोचना यसमा समावेश गरिएको र खण्ड एक र दुईमा नपरेका समालोचकलाई यसमा समावेश गरिएको कुरा यसका सम्पादक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले बताएका छन् । 

यस ग्रन्थमा नवीन सौन्दर्य चिन्तन, पूर्वीय साहित्य र दर्शनको पुनर्व्याख्या, अन्तर्विषयक अध्ययन, स्फोटवाद, विनिर्माणवाद, डायस्पोरा, विधाविघटन, नवमनोविश्लेषण, भौगोलिक समालोचन, साइबर समालोचना, अधिआख्यान, कुसङ्केतनता, अपाङ्गता, सीमान्तीयता, पर्यावरण, समाजशास्त्रीय, सांस्कृतिक र लैङ्गिक अध्ययन, लोकसाहित्य अध्ययनका विभिन्न पद्धति, रङ्गशिल्प, नाट्यायन, पाठालोचन, पाठनिर्माणका युक्ति, अलङ्कार र फिगर अफ स्पिच, साहित्य र इतिहास लेखनका प्रतिमान, स्वैरकल्पना, आनुभविकता विश्लेषणलगायतका नवीन सिद्धान्तहरू मात्र यस ग्रन्थमा रहेकाले यसको ठूलो प्राज्ञिक महत्त्व रहेको कुरा सम्पादक गौतमले बताउनु भयो । 

यति बृहत् आकारको ग्रन्थ प्रकाशन गर्ने आँटका सन्दर्भमा कुरा गर्दा रत्न पुस्तक भण्डारका प्रबन्ध निर्देशक गोविन्दप्रसाद श्रेष्ठले यो यस प्रकाशनको बृहत् प्राज्ञिक एवम् बौद्धिक परियोजनाको निरन्तरता भएको र नाफाका दृष्टिले भन्दा पनि प्राज्ञिक र बौद्धिक महत्त्वका दृष्टिले प्रकाशन गरेको जानकारी दिनुभयो । साथै उहाँले यस ग्रन्थका सामग्री प्रा.राजेन्द्र सुवेदी जीवित छँदै तयार भए पनि कोरोना र विभिन्न प्राविधिक कारणवश अहिले ग्रन्थ प्रकाशन गर्न सम्भव भएको हो भन्नुभयो ।