• ९ मंसिर २०८१, आइतबार

देशको पहिलो सुन्तला ग्रेडिङ मेसिन बन्द हुने अवस्थामा

blog

स्याङ्जाको अर्जुन चौपारी १ मा रहेको देशकै पहिलो सुन्तला गे्रडिङ मेसिन । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, पुस १० गते । सरकारले ८५ प्रतिशत अनुदान दिने सहमतिमा सञ्चालनमा आएको देशकै पहिलो सुन्तला ग्रेडिङ मेसिन बन्द हुने अवस्थामा पुगेको छ । सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जाको अर्जुन चौपारी १ मा रहेको सुन्तला ग्रेडिङ मेसिन पाँच वर्ष पुग्दा समेत अनुदान नपाएपछि बन्द हुने अवस्थामा पुगेको हो । 

सुन्तला उत्पादक फणिनारायण अर्यालले २०७४ मा ८५ प्रतिशत नेपाल सरकार र १५ प्रतिशत आफूले लगानी गर्नेगरी सञ्चालनमा ल्याउनुभएको थियो । सार्क फण्डले सहयोग दिनेगरी पोष्ट हार्बेष्ट निर्देशनालयसँग अनुदानको सम्झौता गरेसँगै अर्यालले ग्रेडिङ मेसिन नेपालमै पहिलो पटक स्याङ्जाको अर्जुन चौपारीमा भित्र्याउनुभएको थियो । 

५८ लाख रुपियाँमा मेसिन खरिद गरेर काम गर्नुभएका अर्यालले सरकारले सम्झौताको ४६ लाख ८१ हजार रुपियाँ अनुदान उपलब्ध गराएको छैन । सरकारबाट सम्झौताको अनुदान नपाएपछि चार वर्ष पहिला मुक्तिनाथ विकास बैङ्कबाट ७० लाख ऋण लिएर सञ्चालन गरे पनि रकम नपाउँदा ऋण तिर्न समस्या भएको बताउनुभयो । 

मेसिन राख्ने भवन बनाउन ५० प्रतिशत १८ लाख पाएर बनाए पनि मेसिनको अनुदान भने पाँच वर्ष पुग्न लाग्दा पनि नपाएको अर्यालले बताउनुभयो । सम्झौता भएको कार्यालय खारेज हुँदा नयाँ कार्यालय खोज्न तीन लाख रुपियाँ खर्च गरेको बताउँदै अर्यालले अहिले बाली विकास तथा जैविक विविधता कार्यालय हरिभवनमा अनुदानका लागि छलफल भइरहेको बताउनुभयो । 

सरकारबाट अनुदान पाउनेगरी ग्रेडिङ मेसिन किनेको बताउँदै अनुदान नपाए घाटा खाएर भए पनि मेसिन बेचेर ऋण तिर्नुपर्ने बाध्यता भएको बताउनुभयो । आफ्नो ८० रोपनी जग्गामा उत्पादन भएको सुन्तला र अन्यबाट लिएको सुन्तला ग्रेडिङ गरेर बेच्दा आएको रकमले ब्याज तिर्न सकेको बताउँदै सुन्तला बेचेर आर्थिक आर्जन गर्ने चाहना अधुरो भएको अर्यालले बताउनुभयो ।  

दैनिक १० देखि २० मेट्रिक टन ग्रेडिङ मेसिनबाट सुन्तला ग्रेडिङ गर्न सकिन्छ भने अर्यालले वार्षिक दुई हजार मेट्रिक टन सुन्तला ग्रेडिङ गरेर बेच्ने गर्नुभएको छ । ६५ मिटर लामो ग्रेडिङ मेसिनले अटोमेटिक सुन्तला पखाल्ने, धुने, पुछ्ने, पोलिस गर्ने गरिन्छ भने सानोदेखि ठूलो आठ वटा ग्रेडमा सुन्तला मेसिनले छुट्टाउने गर्छ ।