राधाकृष्ण डुम्रे
वालिङ, पुस ९ गते । वालिङ नगरपालिका –१२ का युवा डोलराज (डोलम) पराजुलीले अमलाको फलबाट अचार र बेलको फलबाट चिया बनाएर राम्रो आम्दानी गर्नुभएको छ । स्थानीयस्तरमा त्यसै खेर गइरहेको अमला र बेलको सदुपयोग गर्दै पराजुलीले नयाँ उद्यम सुरु गर्नु भएको हो ।
झण्डै डेढ वर्ष साउदीमा गरेको दुःख सम्झँदै पराजुलीले भन्नुभयो, “विदेशमा गरेको मेहनतको आधा मेहनत गाउँमा गर्दा राम्रो आम्दानी गर्न सकिँदो रहेछ ।” विदेशमा त्यसै पैसा आउने होइन भन्दै पराजुलीले हामीले हाम्रो गाउँठाउँमा त्यसै खेर गइरहेका सामग्रीबाटै राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । “गाउँमा सहजै अमला र बेल पाइन्छ, मैले त्यसैको सदुपयोग गरेको हु” पराजुली भन्नुभयो ।
पछिल्लो समय बारीमा अमला र बेलको बिरुवा रोपण गर्न सुरु गरेको पराजुलीको भनाइ छ । उहाँले भन्नुभयो, “अब विदेश जाँदिन यही कामलाई व्यावसायिक रूपमा गर्छु, त्यसैले सबैतिर अमला र बेलका बिरुवा रोप्ने वातावरण बनाउँछु ।”
गाउँमा मेहनती मानिएका पराजुलीले अर्काको ग्यारेजमा काम गरेर गाउँमा नै ग्यारेज समेत सञ्चालन गर्नुभएको छ । दिउँसो ग्यारेजको काम गर्दै बिहान–साँझ अचार चियापत्ति बनाउने काम गर्दैआउनुभएको छ ।
स्थानीयस्तरमा नै पाइने अमला र बेलको प्रयोग गरेर उत्पादन गरिएको अर्गानिक अचार र चियापत्ति किन्नका लागि ग्राहकहरू घरमा नै पुग्ने गरेका छन् । पराजुलीले स्थानीय मेला तथा महोत्सवमा समेत अमलाको अचार र बेलको चिया बेच्दै आउनुभएको छ ।
बाँदरले गाउँघरमा बसीनसक्नु छ, अमला बेल लगाउने र त्यसको सही सदुपयोग गर्ने हो भने गाउँमा त्यसै खेर गइरहेको खेतबारीको सही सदुपयोग हुने र राम्रो आम्दानी पनि हुने वडा नं. १२ का वडा अध्यक्ष बिश्वजंग गुरुङको भनाइ छ ।
विभिन्न रोगमा औषधीको काम समेत गर्ने यस्ता सामग्रीहरूको व्यावसायिक उत्पादन गर्ने योजना रहेको पराजुलीले बताउनुभयो । स्वदेशमा नै केही गर्छु भन्ने युवालाई सरोकारवालाहरूले सहयोग गर्नु पर्ने पराजुलीको भनाइ छ ।