• ९ मंसिर २०८१, आइतबार

राइनासटार सिंचाई योजनाको पक्षमा लमजुङका सांसद

blog

राइनासटार सिंचाई योजनाको मुहान । तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, पुस ८ गते । लमजुङको राइनासटार सिंचाई योजनाका उपभोक्ताको मागलाई सम्बोधन गर्नुपर्नेमा लमजुङका आठ जना सांसदहरुले ऐक्यवद्धता जनाएका छन् । संघ र प्रदेशमा निर्वाचित सांसदहरुले प्रेस विज्ञप्ति जारी गर्दै राइनासटार सिंचाई योजनामा पानीको प्राकृतिक वहावमा अवरोध हुन नदिन र समयमै किसानको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

चम्पावती हाइड्रोपावर लिमिटेडले लमजुङ र गोरखाको सिमाना चेपे नदीमा निर्माण गरिरहेको चेपे ए जलविद्युत आयोजनाले सिंचाई योजनामा प्रभाव पार्ने भन्दै स्थानीय आन्दोलित भइरहेको समयमा सांसदहरुको पछिल्लो ऐक्यवद्धतासहितको समर्थन आएको छ । 

७ मेगावाट क्षमताको सो आयोजनाले राइनास क्षेत्रको गौरवको योजना राइनासटार सिंचाई योजनालाई प्रभावित पार्ने भन्दै पालिकाका राजनीतिकदलदेखि जिल्लाका राजनीतिक दलहरुले उपभोक्तालाई साथ दिएका छन् । 

यस क्रममा प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङ, उर्मिला माझी, राष्ट्रिय सभा सदस्य दिपा गुरुङ, गण्डकी प्रदेश सभा सदस्य टकराज गुरुङ, भेषबहादुर पौडेल, पार्वती तामाङ, टिकाकुमारी बस्याल र यशोदा रिमालले संयुक्त विज्ञप्ति निकाली राइनासका नागरिकको पक्षमा रहेको बताएका छन् । 

आयोजनालाई आवश्यकताअनुसार जलविद्युत आयोजनाको डिजाइन परिवर्तन गर्नुपरेमा सो कार्यमा समेत तयार हुन, जनतालाई हतोत्साहित नवनाउन र केही उपभोक्तालाई मुद्दा लगाएको सुनुवाइमा आएको भन्दै कुनै पनि कार्य नगर्न अनुरोध गरेका छन् । ज्ञापनपत्रमा शिघ्र वार्तामा वसी सुझबुझपूर्ण तरिकाले सहज वातावरण वनाउन उहाँहरुले आग्रह गर्नुभएको छ । 

राईनासटार सिंचाई आयोजनाबाट हालसम्म लाभान्वित कृषकहरुको पुस्तौं देखिको माटोसँगको सम्बन्ध र गाढा माया विद्रोहमा रुपान्तरण भयो भने त्यसले पार्ने दुरगामी प्रभाव अकल्पनीय हुनसक्ने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जसको जीवन माटोसँग जोडिएको छ, त्यही कृषकको खेत बाँझो हुने तथा सिंचाईको आयोजना तहस नहस हुनेखालको आयोजनाहरु निर्माण गरिनु हुँदैन ।’

विगत ३५ वर्षदेखि निरन्तर सञ्चालनमा रही राइनास न.पा. १ देखि ७ सम्मका ३ हजार ५०० घर परिवारका १४ हजार जनताहरु प्रत्यक्षरुपमा लाभान्वित छन् । सिंचाई आयोजनाको मुहानदेखि चुहानसम्म १७  कि.मी. दूरी रहेको यस आयोजना पूर्ण क्षमताका साथ सञ्चालन हुँदा १ हजार ४०० हेक्टर जमिन सिञ्चित हुने आयोजनावाट हाल ८५० हेक्टर जमिन सिन्चित हुँदैआएको छ ।