• १२ असोज २०८१, शनिबार

तनहुँ हाइड्रो पावरको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर २८ गते। तनहुँ हाइड्रो पावर लिमिडेड अन्तर्गतको तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ मा ३३÷११ केभीको घिरिङ सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको छ। 

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घिरिङ सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको हो।

सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको आयोजनाले जनाएको छ। 

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना’ मार्फत् तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारणलाइन निर्माण गरिएको छ। 

घिरिङ सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ भने स्थानीय रुपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ। ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ। यस सबस्टेसनमार्फत् तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिकाको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का केही भागमा विद्युत आपूर्ति हुनेछ। जसबाट त्यस क्षेत्रका उपभोक्ताहरु भरपर्दो र गुणस्तरीय विद्युतसेवाबाट लाभान्वित हुनेछन्।

यसैगरी आयोजना अन्तर्गत नै तनहुँको बन्दीपुर गाउँपालिका वडा ६ मा ३३/११ केभीको सबस्टेसन निर्माण अन्तिम चरणमा छ। त्यस्तै, तनहुँको मार्कीचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने ३३ केभी लाइनको निर्माण पनि अन्तिम चरणमा छ। आयोजना अन्तर्गत तनहुँ जिल्लाका विभिन्न ठाउँमा विभिन्न क्षमताका ७० वटा नयाँ वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ। 

तनहुँको विद्युतीकरणका लागि दुई वटा सबस्टेसन निर्माण गर्न इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जे.भीसँग २०७५ को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो। ग्रामीण विद्युतीकरण अन्र्तगतका सम्पूर्ण कार्य चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो।