• १२ असोज २०८१, शनिबार

छिट्टै देशको प्रधानमन्त्री बन्छु : अध्यक्ष दाहाल

blog

रमेश पौडेल

पोखरा, मंसिर २८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताउनुभएको छ । आज कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अबको सरकार गठबन्धनकै बन्ने बताउँदै आफू प्रधानमन्त्री हुने सम्भावना बढी रहेको उहाँले चर्चा गर्नुभयो । पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा विधि, प्रक्रिया बुझ्नै समय लागेको बताउँदै अबको क्रममा सुशासन र विकास, भ्रष्टाचार नियन्त्रणका निम्ति समर्पित हुने प्रतिबद्धता जनाउनुभयो ।

आफ्नो बाँकी जीवन मुलुकको समृद्धिका लागि खर्चिने उहाँले बताउनुभयो । अब जनतालाई आश्वासनभन्दा काम गरेर देखाउनु पर्नेमा आफू लाग्ने उहाँले चर्चा गर्नुभयो । नयाँ दलहरूको उदय प्रमुख दललाई चुनौतीसँगै अवसर भएको उहाँको भनाइ छ । 

आफू धेरै ठाउँबाट चुनाव लड्दैआएको बताउँदै उहाँले आवश्यक परे कास्कीमै आएर पनि जनताको सेवा गर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिका लागि गुणस्तरीय शिक्षा आवश्यकता रहेको प्रष्ट पार्नुभयो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, पूर्व अध्यक्ष युवराज कुँवर, महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरपति दाहाल लगायतले धारणा राख्नुभएको थियो ।