• १३ साउन २०८१, आइतबार

पर्यटक भित्र्याउन झोलुङ्गे पुल

blog

दिपायल समाचारदाता

दिपायल, मङ्सिर २८ गते  ।  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण गरिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोटभैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरी अग्लो डाँडामाथि पुल निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले ८६ लाख ३८ हजार रुपियाँ लगानीमा उक्त पुल निर्माण गरेको हो। जमिनदेखि ७० मिटर उचाइमा निर्माण गरिएको पुलको लम्बाइ २०० मिटर छ। 

दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले सोमबार एक कार्यक्रमबीच पुल उद्घाटन गर्नुभयो। नगरप्रमुख खड्काले देशकै ऐतिहासिक र राजनीतिक प्रशासन केन्द्र रहेको कोटभैरव र दुधेश्वर शक्तिपीठलाई पुलले जोडेर यसलाई नमुना पर्यटकीय स्थल बनाउन पुल निर्माण गरिएको बताउनुभयो। पुल निर्माणसँगै यहाँको ऐतिहासिकता र मौलिकता उजागर गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष रहेको उहाँले बताउनुभयो। 

मध्यकालीन सयममा बाइसे राज्यहरूमध्ये डोटी राज्य सबैभन्दा शक्तिशाली थियो। उहाँले भन्नुभयो, “यसै राज्यका एक चर्चित राजा भूपति शाह हुनुहुन्थ्यो। उहाँले डोटीमा वि.सं. १६१५ देखि १६४७ सम्म शासन गरेको इतिहासमा भेटिन्छ।” उहाँकै शासनकालमा डोटी गौँडा नामक डाँडामा कोट अर्थात् राजदरबार निर्माण गरिएको इतिहासमा पाइन्छ। सोही दरबारबाट डोटी राज्यको राजकाज सञ्चालन हुन्थ्यो। राजनीतिक र प्रशासनिक इतिहास भएको यो ठाउँलाई पर्यटकीय स्थल बनाउन थप गतिविधि सञ्चालन गर्ने योजना पालिकाले बनाएको छ।

यो ठाउँमा ऐतिहासिक कोटभैरव (दरबार)का भग्नावशेषहरू अहिले पनि भेट्न सकिन्छ। दरबार पुनर्निर्माणका लागि केही समयअघि उत्खनन पनि गरिएको थियो। डोटी गौँडाका रूपमा चिनिने उक्त ठाउँमा रहेको दरबारको निर्माण भने अगाडि बढ्न सकेको छैन। झोलुङ्गे पुलको निर्माण प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनअघि नै सम्पन्न भए पनि आचारसंहिताका कारण ढिला गरी उद्घाटन गरिएको जनाइएको छ। निमार्ण सकिनेबित्तिकै सो पुलमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ। टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा पुल र पुलबाट देखिने दिपायल, पिपल्ला बजार क्षेत्र र सेती नदी आएका छन्। अग्लो ठाउँमा रहेको सो पुलबाट जिल्लाको मुख्य बजार क्षेत्र दिपायल, पिपल्ला, राजपुर सिलगढी, सेती नदी, सेती नदीमा र द्वारीखोलामा रहेका पुल, राजमार्गलगायत जिल्लाका अधिकांश क्षेत्र अवलोकन गर्न सकिन्छ। दरबारको संरक्षण र पुनर्निर्माण, बन्जी, ¥याफ्टिङको व्यवस्था एवं ऐतिहासिकताबारे प्रचारप्रसार गर्न सकिए यो क्षेत्रलाई चर्चित पर्यटकीय क्षेत्र बनाउन सकिने दिपायल सिलगढी नगरपालिकाका वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो।