भौतिक वा मानसिक गतिशीलतालाई हामी श्रम भन्छौँ। अर्थशास्त्रको भाषामा कुनै वस्तु वा सेवा उत्पादन गर्न प्रयोग हुने प्रयत्न नै श्रम हो। उत्पादनका अन्य साधन जमिन, प्रविधि र पुँजी आफैँमा सक्रिय हुन सक्दैनन् तर श्रम भने सक्रिय साधनका रूपमा अरूभन्दा बढी महत्वपूर्ण रहन्छ नै। श्रमलाई नेपाली बृहत् शब्दकोशले “कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवन निर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम” भनेर अथ्र्याएको छ। श्रम भन्नासाथ त्यो उत्पादनसँग जोडिन्छ चाहे त्यो शारीरिक वा मानसिक परिश्रमबाट प्राप्त भएको होस्। शारीरिक श्रमलाई पनि दुई भागमा बाँडिएको छ। सीपको काम गर्ने र शारीरिक काम गर्ने। सीप नहुनेले सबैभन्दा गाह्रो काम गर्छ र सबैभन्दा कम ज्याला पाउँछ। त्यसैले पनि सीपको विकासको आफ्नै महत्व छ।
श्रमको उत्पादकत्व
प्रतिघण्टा श्रमको प्रयोगबाट प्राप्त परिणामबाट नै श्रमको उत्पादकत्व मापन गर्ने र तुलना गर्ने गरिन्छ। श्रमको उत्पादकत्व राम्रो भएमा मात्र हाम्रो जनशक्ति राम्रो मानिन्छ र कुल गार्हस्थ्य उत्पादनमा योगदान पनि राम्रो नै हुन्छ। नेपालको श्रम उत्पादकत्व कमजोर रहेको सन्दर्भमा बजारको मागअनुसारको सीप विकास भएमा मात्र श्रम उत्पादकत्व बढेर जाने देखिन्छ। त्यसो त श्रमको उत्पादकत्वमा सुधारका लागि खासगरी तीनवटा पक्षमा सुधार हुनु आवश्यक देखिन्छ। पहिलो हो– भौतिक संरचना तथा उपकरणका लागि लगानी गर्न पर्याप्त स्रोतको व्यवस्था। दोस्रो पक्ष हो– नयाँ प्रविधिको प्रयोग र तेस्रो हो– मानवीय पुँजीमा लगानी तथा उत्पादन भएको योग्य जनशक्तिको उपयोग। यी तीनवटै पक्षमा पर्याप्त र सन्तुलित विकास भयो भने मात्र श्रमको उत्पादकत्व बढ्न गई समग्र अर्थतन्त्रमा योगदान बढ्छ।
श्रमका प्राथमिक तत्व
श्रमले पूर्णता पाउने प्रक्रियाका तीनवटा प्राथमिक तत्व छन्। पहिलो हो– मानिसको क्रियाशीलता अर्थात् काम गर्ने तत्परता, दोस्रो– श्रमको वस्तु र तेस्रो– श्रमको साधन अर्थात् औजार। मानिसले उपयोग गर्ने असङ्ख्य वस्तु प्रकृतिमा उपलब्ध छ वा तयार हुन्छ। हावा र प्रकाशबाहेक सबै वस्तुको उपयोग गर्न श्रम अनिवार्य हुन्छ, जुन व्यक्ति स्वयंले गर्नुपर्छ। सरल भाषामा भन्नुपर्दा श्रमबिना मानिस जीवित रहन सक्दैन। अर्को शब्दमा भन्दा हाम्रो उपयोगका लागि प्रकृतिमा वस्तु प्रशस्त छन् तर त्यसका लागि हाम्रो आफ्नै श्रम ती वस्तुमा लगाएर त्यसलाई उपयोगका लागि तयार गर्ने काम श्रम प्रक्रिया हो। त्यो श्रम प्रक्रियामा प्रयोग हुने आफ्नो श्रम, तयार गर्ने वस्तु र तयार गर्न प्रयोग गर्ने औजार श्रम प्रक्रियाको प्राथमिक तत्व हुन्। यी तीनवटै तत्व एकआपसमा अन्योन्याश्रित रहन्छन् श्रमलाई पूर्णता दिनका लागि।
धेरै सङ्घसंस्था र अभियन्ता वा अधिकारवादीले बालश्रमको वकालत गरेको हामी सुन्छौँ। श्रममा लगाउने क्रममा विभेद भएको होला अनि धेरै लामो समयसम्म लगातार काममा पनि लगाइएको हुनसक्छ तर के काम गर्नु नै श्रम शोषण हो त ? दिनभर खेल्नु श्रम शोषण होइन अनि खानका लागि केही न केही काम दिनहुँ गर्नु कसरी श्रम शोषण हुन्छ ? श्रमलाई हेर्ने दृष्टिकोणकै कारण पनि हाम्रा बालबालिका पढाइ सक्दासम्म पनि केही गर्न नसक्नेजस्तो कहालिलाग्दो अवस्था आइलागेको छ। उनीहरूलाई पढाइसँगै जोडेर कामलाई गृहकार्य वा परियोजना कार्यका रूपमा दिँदै आइएको भए र कामले दिएको परिणामका आधारमा केही न केही अङ्क निर्धारण तथा अन्तिम नतिजाको अङ्क वा स्थान दिन सकेको भए यस्तो अवस्था आउने थिएन। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत काम सिकाउनु र लगाउनुपर्छ ता कि ऊ पढाइ सकेपछि पनि काममा रमाउन सकोस्।
श्रम ऐन, २०७४ ले पाँच प्रकारका रोजगारीका किसिमका रूपमा नियमित रोजगारी, आंशिक रोजगारी (हप्तामा ३५ घण्टा वा सोभन्दा कम अवधिको), कार्यगत रोजगारी, समयगत रोजगारी र आकस्मिक रोजगारी (एक महिनामा सात दिन वा सोभन्दा कम अवधिको) अस्तित्वमा रहन सक्ने परिकल्पना गरेको छ। यसरी विभिन्न खालका रोजगारी प्राप्त गरी व्यक्तिले श्रम लगाएका हुन्छन्। जेजति किसिमको भए पनि रोजगारी भनेको आयआर्जन र जीविकाको माध्यमका साथै बचत र लगानीको स्रोत पनि हो भन्न सकिन्छ ता कि थप व्यक्तिले रोजगारी प्राप्त गरी श्रममार्फत वस्तु वा सेवा बढाई देशको अर्थतन्त्रमा योगदान गर्न सक्छन्।
श्रम के हो, के होइन ?
श्रमलाई आर्थिक वृद्धिको एउटा महत्त्वपूर्ण साधनका रूपमा लिइन्छ। त्यसो त श्रम विभाजन अर्थशास्त्रको आधारभूत अवधारणा हो। कठिन परिश्रमले नै देखिएका उचित सपना साकार हुन्छन्। इतिहास रच्नेहरू पनि मानिस हुन् भने मानिसकै कामले भविष्यले आकार लिने हो। मानव समाज र सभ्यतामा भइरहेको प्रगतिका लागि आधारभूत ऊर्जा स्रोत नै काम अर्थात् श्रम हो। खुसी भनेको आकाशबाट यत्तिकै झरेर आउँदैन भने सपना साकार हुने विषय पनि स्वचालित हुन सक्दैन, यसका लागि मेहनतपूर्वक काम गर्नैपर्छ। काम भनेकै सम्मानको आधार हो, कामकै कारण व्यक्ति सम्मानयोग्य बन्छ भने काम कति सुन्दर र गहनतम विषय रहेछ, सहजै अनुमान लगाउन सक्छौँ। सिङ्गो समाजले नै कामलाई माया गर्नुपर्छ र निष्क्रियतालाई प्रश्रय दिइनु हुन्न। साथसाथै अनिश्चित र जटिल विश्वमा मेहनत, इमानदारी र सिर्जनशीलताका साथ काम गर्ने वातावरण बनाइनुपर्छ, जसले मात्र मानव विकासको बाटो चौडा बनाउन सक्छ।
श्रमसम्बन्धी केही धारणा
बुद्ध धर्मले पनि श्रमप्रति इमानदार र अनुशासित रहन प्रेरित गर्छ। काम गर्नुलाई अर्को अर्थमा श्रम गर्नु भन्न सकिन्छ तर आमबुझाइजस्तै श्रम गर्नु भनेको दुःख भने होइन। सङ्घर्ष, मेहनतको परिणाम सफलता हुने हुँदा श्रममूलक कामलाई दुःख नठानी सम्मान गर्नु आवश्यक छ। श्रम सुखको उच्चतम स्रोत हो। दार्शनिक ओशोका अनुसार मानिसको शरीर, मानिसको प्राण कुनै विशिष्ट श्रमका लागि निर्मित हो तसर्थ यो जीवनशक्ति गुमाउनु हुँदैन। श्रमबाट टाढा हुनु भनेको जीवनदेखि नै टाढा हुनु हो।
समाजशास्त्री दुर्खाइमले श्रमको कार्य विभाजन सम्बन्धमा निश्चित व्यक्तिका लागि सुहाँउदो खालको काम दिँदा सिङ्गो समाजलाई फाइदा हुने विचार राखेका थिए। यसो गर्दा पुनःउत्पादन क्षमता बढी हुने मात्र नभई उस्तै खालको काम गर्नेका बीचमा एकत्वभाव पनि हुने उनको तर्क थियो। पूर्वीय दर्शनमा भनिएको छ, “श्रम गर, फलको आशा नगर।” अवश्य पनि सार्थक ढङ्गले गरिएको कुनै पनि श्रमले नतिजा त दिन्छ नै। यद्यपि श्रम गरिरहँदा त्यसको नतिजाप्रति आशक्ति रहनु वा व्यग्र रहनु उचित होइन। श्रम गरेपछि त्यसले अवश्य सुख प्राप्ति हुन्छ। बुद्ध दर्शनले पनि श्रमको मर्म र महिमा बताएको छ।
सार्थक र सही श्रमलाई नै धर्मको अंशका रूपमा व्याख्या गर्दै श्रमप्रति इमानदार र अनुशासित रहन प्रेरित गरेको छ। यस किसिमको श्रमबाट सुख र शान्ति प्राप्त हुने बाटो खुल्ने भनिएको छ। एङ्गेल्सले भन्नुभएको छ कि हाम्रो हात श्रमेन्द्रीय मात्र होइन, त्यो श्रमको उपज हो। हाम्रो धर्मशास्त्रले पनि बिहान ब्युँझनासाथ ‘कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती करमूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम्’ भन्ने मन्त्रोच्चारणका साथ आफ्नो हात हेर्न भनिएको छ। हातलाई काममा समर्पित गर्नेहरूका लागि श्रम गर्नु सामान्य विषय हो। जीवन र श्रम समानार्थक हो। जीवन र श्रमले एकै अर्थ राख्छ तर अहिले हामी सुविधाभोगी हुने चक्करमा र सुखको खोजीमा श्रम त्याग्दैछौँ। श्रम गर्नबाट पन्छिँदैछौँ।
श्रमका विशेषता
श्रमका विशेषताका सम्बन्धमा चर्चा गर्नुपर्दा यसका आफ्नै गुणका सम्बन्धमा गहिराइमा पुगेर विश्लेषण गर्नुपर्ने हुन्छ। पहिलो र ख्याल गर्नैपर्ने एउटा विषय त के भने श्रमको प्रयोग भएन भने प्रयोग नभएको श्रम भनेर सञ्चित गरेर वा भण्डारण गरेर राख्न सकिँदैन अर्थात् निष्क्रिय रहँदा यो नष्ट भएर जान्छ। त्यस्तै अर्को सोचनीय विषय यो छ कि श्रम भन्ने चिजलाई श्रमिकबाट अलग गरेर हेर्न वा व्यवहार गर्न मिल्दैन। तोकिएको स्थानमा व्यक्ति वा श्रमिक उपस्थित भएर मात्र वस्तु वा सेवाको सिर्जना हुन सक्छ। सुरुमै भनियो कि श्रम भनेको मानवीय प्रयत्नबाट परिणाम निकाल्ने तत्व हो। मानवीय प्रयत्न गर्नेउपर गरिने व्यवहार पनि मानवीय नै हुनुपर्छ।
श्रमिकउपर हुनुपर्ने मानवीय व्यवहार र कानुनी उपचार सम्बन्धमा स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनले आवाज बुलन्द पार्दै आएको छ। खासगरी सबै श्रमिकउपर निष्पक्ष व्यवहार, आराम गर्ने समयउपर ख्याल गर्ने, उपयुक्त कार्यवातावरणमा ध्यान दिने, मान्य कार्यविधिको अवलम्बन गरिनुपर्छ। बजारमा उपलब्ध श्रमिक र उनीहरूबाट उपलब्ध हुने श्रममा निश्चित रूपमा विविधता रहन्छ। यो असमानता वा विविधतालाई श्रम व्यवस्थापनको बाधक हैन कि साधक मान्नुपर्छ। रोजगारदाताको स्थान श्रमिकको तुलनामा माथि नै हुन्छ किनकि सौदाबाजी गर्ने शक्ति श्रमिकको तुलनामा उनीहरूकै बढी हुन्छ। उत्पादनका साधनमध्ये जग्गाबाहेक अन्य तìवजस्तो सजिलै स्थान परिवर्तन गर्न सरल हुँदैन। त्यस्तै बजारमा श्रमको आपूर्तिको लोच कम हुन्छ। भनेकै बखत चाहिएजस्तै श्रमिक पाउनु हाम्रोजस्तो देशमा संयोगको विषय हुन्छ। योजनावद्ध ढङ्गले जनशक्ति विकास र बजार सूचना प्रणालीलाई चुस्त र अद्यावधिक गर्न सकियो भने असम्भव नै भने होइन।
अन्त्यमा श्रमको सम्मान र श्रमको उत्पादकत्व बढाउने उपायको अवलम्बन अहिलेको माग हो। यसका लागि देशभित्रै श्रम गर्ने वातावरण आवश्यक छ, जसका लागि कामलाई स्तरीकरण गरेर हेर्ने सोचमा सुधार हुनुपर्छ भने सबै स्थानीय तहमा स्थानीय मागबमोजिमका सीपको नक्साङ्कन गरेर बढी माग भएका सीप विकास गर्ने र प्रयोग गर्ने नीति तथा कार्यक्रम अवलम्बन गरिनुपर्छ। सबभन्दा महत्वपूर्ण कुरा त क्षमताअनुसारको श्रम गर्ने अवसर पाउनुपर्छ। उनीहरूले अपमानित हुने वा निराश भएर देश छोड्नुपर्ने अवस्था आउनु हुन्न।