• १९ असार २०८१, बुधबार

सुन्तला भण्डारण गर्न समस्या

blog

जयमान बुढामगर

रुकुमपूर्व, मङ्सिर २४ गते । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८, सुनखानाका सबैजसो घरमा सुन्तलाको बगैँचा छ । यहाँका किसानले सुन्तलाबाट वार्षिक तीन/चार लाख रुपियाँसम्म पनि आम्दानी गर्दै आएका छन् । 

यस वडाका झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखाना र भुरुङ्गालगायतका ठाउँमा सुन्तला पाकेर पहेँलपुर भएका छन् । किसानलाई सुन्तला टिप्न भ्याइनभ्याइ छ ।

यहाँका प्रत्येक किसानको बगैँचामा यस पटक राम्रै उत्पादन भएको छ । राम्रो फलेका कारण यस वर्ष राम्रै आम्दानी हुनेमा यहाँका किसान आशावादी देखिन्छन् । तर, शीतभण्डारको अभावले सस्तोमा बेच्नुपर्ने बाध्यता किसानको छ ।

यहाँ उत्पादन भएका सुन्तलामध्ये आधा जति कुहिएर खेर जाने गरेको स्थानीय किसान नरसिंह पुनले बताउनुभयो ।  बाँकी रहेको आधा सुन्तला व्यापारीले सस्तो मूल्यमा लिने गरेको उहाँको भनाइ छ । शीतभण्डारको अभावमा बर्सेनि किसानले लाखौँ रुपियाँ क्षति बेहोर्नु परेको अर्का किसान कर्णबहादुर पुनले बताउनुभयो । अहिले सुन्तला पाकिसकेकाले बिक्री गर्ने चिन्ता किसानमा छ । डोकामा सुन्तला बोकेर जिल्ला सदरमुकाम रुकुमकोट र रुकुमपश्चिमको मुसीकोट खलङ्गामा पु¥याई बिक्री गर्ने गरिएको छ । सिस्ने गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको सङ्कलन केन्द्र प्रयोगमा आएको छैन । आधुनिक शीतभण्डारको अभावमा सुन्तला कुहिन नदिन स्याउला तथा सल्लाको कुसुममा सुन्तला भण्डार गर्नुपर्ने किसानको बाध्यता छ । बजार र शीतभण्डार नहुँदा किसानले परम्परागत तरिकाले सुन्तला भण्डारण गर्ने गरेको स्थानीय पदमबहादुर बुढाले बताउनुभयो । 

साबिकको स्यालापाखा गाविस अर्थात् हालको सिस्ने गाउँपालिका–७ र ८ मा बढी सुन्तला फल्छ । सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष गोपाल पुनले एक सयभन्दा बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेको बताउनुभयो । सिस्ने गाउँपालिकाले उत्पादित सुन्तला बजारीकरणका लागि आवश्यक पहल भइरहेको जनाएको छ । यो वर्ष सिस्ने–८ मा रहेको साना किसान कृषि सहकारी संस्थासँग सहकार्य गरेर बजारको व्यवस्थापन गर्न लागिएको छ ।

गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले अर्काे वर्ष सुन्तला भण्डारणका लागि रुकुमकोटमै शीतभण्डार निर्माण गर्ने बताउनुभयो ।