• १३ असोज २०८१, आइतबार

रुकुमपूर्व अस्पतालमा पहिलो पटक शल्यक्रिया सेवा

blog

जिल्ला अस्पतालमा गर्भवती महिलाको पहिलो अप्रेशन गरिदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपूर्व, मङ्सिर ११ गते । जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक अप्रेसन सेवा सुरु भएको छ । जिल्ला अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुमपूर्वमा अप्रेसन सेवा सुरु भएको हो । 

शनिबार अस्पतालमा पहिलो पटक एक गर्भवती महिलाको अप्रेसन गरिएको छ । जिल्ला अस्पतालका डा. पूर्णबहादुर पुनका अनुसार जिल्लाको भूमे गाउँपालिका –८, का सन्तु बुढाको अप्रेसन गरिएको हो । डा. नारायण बरालको टिमले अस्पतालको पहिलो अप्रेसन सेवा सफल बनाएको पुनले बताउनुभयो । 

सुत्केरी हुने समय नाघेको र नर्मल डेलिभरी हुन नसकेकाले अप्रेसन गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सपना विकले जानकारी दिनुभयो । उहाँका अनुसार औषधिले काम नगरेपछि अप्रेसन गरिएको छ । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । 

नेपालको संविधानअनुसार रुकुमपूर्व छुट्टै जिल्ला घोषणा भएपछि २०७४ पुस ७ गते रुकुमकोटमा रहेको स्वास्थ्य चौकीलाई जिल्ला अस्पताल घोषणा गरिएको थियो । यसको औपचारिक उद्घाटन भने २०७६ मङ्सिर ५ गते गरिएको थियो । 

आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले दिने सेवा प्रवाह उल्लेख्य हुन नसकेपछि सांसद विकास कोष र सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा २०७८ असारमा अप्रेसन भवन निर्माण गरिएको थियो । सिस्ने गाउँपालिकाको ३५ लाख र तत्कालीन प्रतिनिधिसभा सदस्य कमला रोकाको संसद् विकास कोषको १४ लाख गरेर ४९ लाखको लगानीमा अप्रशेन भवन निर्माण भएको छ । 

बृहत् आकस्मिक आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्तर्गत निक सिमोन्ड इन्स्टिच्युटले जनशक्ति उपलब्ध गराएपछि जिल्ला अस्पतालमा अप्रेसन सेवा सुरु भएको हो । हाल इन्स्टिच्युटले तीन जना डाक्टर र एक जना नर्स अस्पतालमा उपलब्ध गराएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट विकले जानकारी दिनुभयो ।  

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रूपमा रहेका रुकुमपूर्वमा भौगोलिक विकटतासँगै पर्याप्त स्वास्थ्य सुविधा नहुँदा अप्ठ्यारो अवस्थामा रहेका गर्भवती महिलालाई बाहिर लग्ने गरिएको थियो । जिल्ला अस्पतालमै गर्भवती महिलाको अप्रशेन सेवा सुरु हुँदा आम जिल्लावासीलाई टेवा पुग्ने विश्वास रहेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।