• १३ साउन २०८१, आइतबार

नेपाल रेलको तीन दिन थप सेवा सञ्चालन

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर,  मङ्सिर ७ गते । जयनगर–जनकपुरमा सञ्चालन भइरहेको नेपाल रेलको सेवामा तीन दिन थप सेवा सञ्चालन गरिने भएको छ । जनकपुरधाममा आयोजना हुन गइरहेको विवाह पञ्चमी मेलालाई ध्यानमा राखेर तीन दिन थप सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ । 

दैनिक दुई पटक आउने र जाने गरी सञ्चालन भइरहेको रेल सेवा मङ्सिर ११, १२ र १३ गते थप  सेवा गरी सो तीन दिन तीन पटक सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । 

मेलामा सहभागी हुन आउनु हुने तीर्थयात्री, यात्रुगण तथा सर्वसाधारणको चापलाई दृष्टिगत गरी रेल सेवा थप गरिएको उहाँले बताउनुभयो । तीन दिन बिहान ८ : ३० बजे जयनगर–कुर्था, दिउँसो १२ : ३० बजे जयनगर–जनकपुर र दिउँसो ३ बजे जयनगर–कुर्था रेल सेवा सञ्चालन गरिने समय निर्धारण गरिएको छ । 

त्यस्तै, कुर्था–जयनगर बिहान १०ः४५ बजे, जनकपुर–जयनगर दिउँसो १:४० बजे र कुर्था–जयनगर दिउँसो ५:१५ बजे रेल सञ्चालनको तयारी गरिएको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।