• १२ असोज २०८१, शनिबार

प्रदेश १ मा मतदाताको उत्साहजनक उपस्थिति

blog

इटहरी, मङ्सिर ४ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश १ का मतदान केन्द्रहरुमा आइतबार बिहान ७ बजेबाट मतदान प्रारम्भ भएको छ । सबै मतदान केन्द्रमा साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।

 प्रदेश १ का चौध जिल्लामा एक हजार ८९७ मतदान स्थल र चार हजार ९९ मतदान केन्द्र छन् । अधिकांश केन्द्रमा मतदानका लागि बिहानैदेखि सर्वसाधारण मतदाताको उत्साहजनक उपस्थिति छ । मतदानका लागि महिला र पुरुष मतदाताको छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ भने अपाङ्ता भएका, वृद्धवृद्धा, असक्त, बिरामीलगायतका अत्यन्तै सहज रुपमा मतदान गर्नका लागि निर्वाचन आयोगको निर्देशन अनुसार सबै केन्द्रमा विशेष व्यवस्था गरिएको छ ।

प्रदेश १ का १४ वटा जिल्लामा रहेको प्रतिनिधि सभातर्फको २८ वटा क्षेत्रका लागि ४३७ र प्रदेश सभातर्फको ५६ वटा क्षेत्रका लागि ५१० जना उमेदबारले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीका अनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ जना मतदाता छन् । जसमध्ये, पुरुषतर्फ १७ लाख २९ हजार ७७२, महिलातर्फ १६ लाख ६७ हजार ७१ र अन्यमा २२ जना मतदाता छन् ।

प्रतिनिधि सभाका २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा छवटा निर्वाचन क्षेत्र छन् । त्यस्तै, झापामा पाँच, सुनसरीमा चारका साथै इलाम र उदयपुरमा दुई–दुई निर्वाचन क्षेत्र छन् । अन्य नौवटा पहाडी र हिमाली जिल्लामा एक–एकवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

आज भइरहेको निर्वाचनको सुरक्षाका लागि प्रदेशभर नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसमेत गरी ४५ हजार ५०१ जनशक्ति परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेशमा रहेका १ हजार ८९७ मतदानस्थलमध्ये ४३८ वटा अति सम्वेदनशील, ८२४ वटा सम्वेदनशील र ६३५ वटालाई सामान्यमा वर्गीकरण गरिएको र सोही अनुसार सुरक्षाकर्मीको व्यवस्थापन गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।


Author

सचिन पोख्रेल