• १३ साउन २०८१, आइतबार

छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै

blog

दार्चुला सदरमुकाम खलङ्गामा निर्वाचन सामग्री बुझ्दै कर्मचारी र सुरक्षाकर्मी । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी
दार्चुला, मङ्सिर १ गते ।
कालापानीस्थित व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलङ्गामै हुने भएको छ । गत वैशाख ३० गते नेपाली सेनाको हेलिकोप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरेर स्थानीय तह निर्वाचन छाङरु र तिङ्करमै गरिएको थियो । तर अहिले व्यासमा चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुबै गाउँको निर्वाचन जिल्ला सदरमुकाम खलङ्गामै गर्ने गरी तयारी गरिएको हो ।

नेपाली भूमिबाट छाङरू र तिङ्कर जान बाटो नभएका कारण स्थानीय तह निर्वाचनका लागि हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको थियो । अहिले सबै मतदाता जिल्ला सदरमुकाम खलङ्गा बसाइ सर्ने वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलङ्गामै निर्वाचन गर्न लागिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो ।

सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुबै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको उहाँले बताउनुभयो । छाङरुको मतदान केन्द्रमा ३८३ र तिङ्करको केन्द्रमा २३४ जना मतदाता छन् ।


दार्चुलाका १४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेका छन् । सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेका हुन् । जिल्लाको अति विकट अपिहिमाल, व्यास र लेकम गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरु बुधबार नै खलङ्गाबाट हिँडेका थिए । यातायातको पहुँच भएका र नजिकका केन्द्रहरुमा खटिएका कर्मचारी र सुरक्षाकर्मी आज सम्बन्धित मतदान केन्द्रमा गइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो ।

मङ्सिर १ गते साँझसम्म मतदान केन्द्रमा पुग्नुपर्ने भएकाले निर्वाचन सामग्री बुझेर सबै कर्मचारी र सुरक्षाकर्मी गइसकेको उहाँले बताउनुभयो । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् ।

मङ्सिर १ गते साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुुगेर मदिरा निषेधित क्षेत्रको सूचना टाँसलगायतका निर्वाचनसँग सम्बन्धित कामहरु गर्नुपर्ने बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ९ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता छन् । जिल्लाभरि ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र छन् ।

स्थानीय तह निर्वाचनको बेला दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रमा निर्वाचन गरिएकोमा अहिले दुई मतदानस्थल र ४ केन्द्र थप गरिएको छ । जिल्ला कारागार दार्चुला र घरेलु कार्यालयमा अस्थाई मतदान केन्द्र राखिएको छ । कुनै पनि निर्वाचन केन्द्र अपाङ्गतामैत्री नबनाइएको गुनासो आएको छ । दार्चुलामा स्थानीय तह निर्वाचनमा ७२.०४ प्रतिशत मतदान भएको थियो ।