• १३ असोज २०८१, आइतबार

सिन्धुपाल्चोकमा तामाङ र बस्नेतको रोचक प्रतिस्पर्धा

blog

प्रतिनिधि सभा–२ मा गठबन्धन उम्मेदवार मोहनबहादुर बस्नेत र एमालेका उम्मेदवार शेरबहादुर तामाङ । तस्बिर: गोरखापत्र

सिन्धुपाल्चोक, कातिक २९ गते । सिन्धुपाल्चोक–२ मा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेसका तर्फबाट गठबन्धनबाट उम्मेदवार हुनुभएका पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्व कानुनमन्त्री एवं एमालेका शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बस्नेत २०४८ सालदेखि संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै आइरहनुभएको छ । २०४८ सालको आम निर्वाचनमा साबिक क्षेत्र नम्बर १ बाट बस्नेत एमालेका अमृतकुमार बोहरासँग पराजित हुनुभएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा बस्नेतले टिकट पाउनु भएन । २०५६ सालको निर्वाचनमा बस्नेतले साबिक क्षेत्र नम्बर १ बाट एमालेका बोहरालाई हराएर निर्वाचित हुनुभएको थियो । उक्त समय बस्नेत स्वास्थ्य राज्यमन्त्री हुनुभएको थियो ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा बस्नेत साबिक क्षेत्र नम्बर १ मा तेस्रो हुनुभएको थियो । त्यस बेला माओवादीका राजकुमार श्रेष्ठले उक्त चुनाव जित्नुभएको थियो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेका अरुण नेपाललाई हराउँदै बस्नेतले निर्वाचन जित्नुभएको थियो । उक्त समयमा बस्नेत सूचना तथा सञ्चारमन्त्री हुँदै सरकारका प्रवक्ता हुनुभएको थियो । २०७४ सालको निर्वाचनमा बस्नेत माओवादीका अग्निप्रसाद सापकोटासँग पराजित हुनुभएको थियो ।  

नेकपा एमालेबाट क्षेत्र नम्बर २ मा २०७० र २०७४ सालको निर्वाचनमा लगातार सङ्घीय सांसद जितेका पूर्वमन्त्री शेरबहादुर तामाङ यसपालिको प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार हुनहुन्छ । उहाँ योसँगै पाँचौँ पटक चुनावी मैदानमा हुनहुन्छ । २०५६ सालमा तामाङ पहिलो पटक साबिक क्षेत्र नम्बर ३ मा मालेबाट उम्मेदवार हुनुभएको थियो । 

२०६४ को संविधान सभा निर्वाचनमा तामाङ एमालेबाट उम्मेदवार बन्नुभएको थियो । तर माओवादीका दावा तामाङसँग पराजित हुनुभएको थियो । २०७४ सालको दोस्रो संविधान सभा निर्वाचनमा राप्रपाका पशुपतिशम्सेर राणालाई पराजित गर्दै तामाङ विजयी हुनुभएको थियो । २०७० सालमा पनि शेरबहादुरले जित निकालेर सङ्घीय कानुनमन्त्री हुनुभएको थियो । 

Author

चित्र मिजार