• १३ साउन २०८१, आइतबार

‘गणेशमान सिंहको सङ्घर्ष’ पुस्तक सार्वजनिक

blog

काठमाडौँ, कात्तिक २५ गते । प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको जीवनका सङ्घर्ष बारेमा लेखिएको ‘गणेशमान सिंहको सङ्घर्ष’ पुस्तक बिहीबार सार्वजनिक गरिएको छ।

सिंहकी कान्छी सुपुत्री डा. मीता सिंहले लेख्नुभएको अङ्ग्रेजी भाषाको सो पुस्तकको नेपाली संस्करण सार्वजनिक गरिएको हो। पुस्तकको अनुवाद आम्निका गिरीले गर्नुभएको हो। 

पुस्तकको सार्वजनिक एवं अन्तरसंवाद कार्यक्रमका प्रमुख अतिथि डा. जयराज आचार्यले गणेशमान सिंह हठी, निडर, स्वाभिमानी नेता हुनुका साथै इतिहासको राम्रो ज्ञान भएको, दूरदृष्टि राख्ने बौद्धिक नेताका रूपमा आफूले पाएको स्मरण गर्नुभयो। उहाँले हाल प्रकाशित पुस्तकले स्वर्गीय सिंहको बहुआयामिक पक्ष र दर्शनका बारेमा बुझ्न सहयोग पुग्ने भन्दै उहाँका तस्बिरहरूलाई डिजिटलाइज गरेर सङ्ग्रहालयमा राख्न उपयुक्त हुने सुझाव दिनुभयो। 

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले स्वर्गीय सिंह कांग्रेसको मात्र नभई कम्युनिस्टहरूका पनि उत्तिकै सम्माननीय नेता रहँदै आउनुभएको चर्चा गर्नुभयो। 

महिला अधिकारकर्मी दुर्गा घिमिरेले पुस्तकबाट स्वर्गीय सिंहको बहुआयामिक व्यक्तित्वबारे थप ज्ञान हासिल गर्न सकिने बताउनुभयो। पुस्तकले सिंहको पारिवारिक जीवनका बारेमा धेरै कुरा स्पष्ट पारेको पनि बताउनुभयो। 

पुस्तकका लेखिका डा. मीता सिंहले युवा पुस्ताले स्वर्गीय सिंहबारे कम मात्र थाहा पाएकाले उहाँका जीवन सङ्घर्ष, त्याग र बलिदानबारे युवा पुस्तालाई जानकारी दिन पनि आफूले पुस्तक लेखेको बताउनुभयो। २३० पृष्ठको पुस्तकमा स्वर्गीय सिंहका जीवनका विभिन्न समयका तस्बिर समावेश गरिएको छ।