• १३ साउन २०८१, आइतबार

नेता पोखरेलको प्रतिबद्धतापत्र सार्वजनिक

blog

महोत्तरी क्षेत्र नं १ का सत्ता गठवन्धन दलका उम्मेदवार गिरीराजमणी पोखरेलसहित नेताहरु प्रतिबद्धतापत्र सार्वजनिक गर्दै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक २४ गते । निर्वाचन प्रचार प्रसार उत्कर्षमा पुगेका बेला दल तथा उम्मेदवारले मतदाता रिझाउन अनेक एजेण्डा राखेर प्रतिबद्धता पत्रमार्फत आफ्ना भावी योजना तथा आश्वासन सार्वजनिक गरिरहेका छन् । आफूले जितेपछि जनतालाई दिने सेवा, सुविधा आकर्षक र लोभलाग्दा कुरा उल्लेख गरी घोषणापत्र, प्रतिबद्धतापत्र, वचनबद्धतापत्र नामले एजेण्डा सार्वजनिक गरिरहेका छन् । 

केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जलेश्वरमा घोषणापत्र सार्वजनिक गरेको थियो । लगत्तै महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेलको प्रतिबद्धता सार्वजनिक भयो ।  

२०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर यसै निर्वाचन क्षेत्रबाट जितेर इतिहास रच्नुभएका पोखरेललाई यो निर्वाचनमा पनि उत्सुकतासाथ हेरिएको छ । उहाँको प्रतिबद्धता अहिले सर्वाधिक चासो र चर्चाको विषय बनेको छ । 

प्रतिबद्धता सार्वजनिक गर्न बर्दिबासस्थित विनायक बकेटमा बिहीबार आयोजित औपचारिक कार्यक्रममा पोखरेलले उल्लेखित बुँदाबारे जानकारी गराउनुभयो । १० बुँदे प्रतिबद्धता पत्रमा ५६ थरिका आश्वासन समेटिएका छन् । आश्वासनमध्ये पोखरेलको अघिल्ला कार्यकालमा सुरु गरिएका महत्त्वाकाङ्क्षी विकास पूर्वाधारका अधुरा योजनालाई उच्च प्राथमिकतामा राखिएको छ ।  

पञ्चायतकालदेखि नै चुनावी मुद्दा बन्दैआएको यहाँको ‘अस्थायी बसोबास र लालपुर्जा वितरण’ जस्ता जल्दोबल्दो समस्यालाई पोखरेलको प्रतिबद्धता पत्रले तेस्रो प्राथमिकतामा राखेको छ । गौशालामा रेल्वे इन्जिनियरिङको पठनपाठन र कानुनी विवादमा फसेको बहुचर्चित बर्दिबास मेडिकल कलेजलाई प्राथमिकताको क्रमशः पहिलो र दोस्रो बुँदामा समेटिएको छ । 

त्यस्तै, उत्पादनमूलक कृषि, दिगो विकास, चुरे संरक्षण, रोजगार प्रवर्द्धन, आर्थिक विकास र पूर्वाधार निर्माण, दुर्व्यसन र कुरुतीमुक्त समाज तथा पर्यावरण सुरक्षाजस्ता अल्पकालीन, दीर्घकालीन र समाज परिवर्तनका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता  गरिएको छ । 

उखुको उचित मूल्य निर्धारण तथा सहज र समयमै भुक्तानीका लागि सशक्त र प्रभावकारी प्रयास गर्ने आश्वासनले पोखरेलको प्रतिबद्धतापत्रले बहुसङ्ख्यक कृषकको ध्यानाकर्षण गरेको छ । स्थानीय किसान नेताका अनुसार पोखरेलको निर्वाचन क्षेत्रका झण्डै १० हजार बढी कृषक उखुखेतीमा आबद्ध छन् । 

उखु यस क्षेत्रको प्रमुख नगदेबाली पनि हो । तर उखुको उचित मूल्य र सहज भुक्तानीको विषयलाई लिएर उखु उत्पादक र चिनिमीलवीच बर्षेनी र विवाद र आन्दोलन चर्कनेगरेको छ । यो समस्यालाई सम्बोधन र समाधान गर्ने जोकोही किसान मतदाताको आकर्षण हुनसक्ने कृषकको भनाइ छ । 

गठबन्धन दल नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य चिरञ्जीवी हमालले प्रतिबद्धता अनुसारको काम पूरा गर्न सबैको सहयोग, शुभेच्छा र सहकार्यका लागि आग्रह गर्नुभयो ।