• १९ असोज २०८१, शनिबार

कम्युनिस्टको गढ प्युठानमा थापा र पौडेलबिच प्रतिस्पर्धा

blog

प्रतिनिधि सभा सदस्यका लागि एमालेका उम्मेदवार सूर्य थापा र लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार दुर्गा पौडेल । तस्बिर: गोरखापत्र

प्युठान, कात्तिक २२ गते । कम्युनिस्टका गुरु मानिने मोहनविक्रम सिंह सहितका नेताहरूको गृह जिल्ला प्युठानमा यस पटक सूर्य थापा र दुर्गा पौडेल बीच प्रतिस्पर्धा हुने भएको छ । 

कम्युनिस्टको उर्वर भूमि मानिने प्युठानमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि माहौल तात्न थालेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा दलहरूले चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । 

जिल्लामा यस पटकको निर्वाचनबाट आफ्नो उम्मेदवारलाई जिताउन नेकपा एमाले र गठबन्धनका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी लागिपरेका छन् । २०७४ को निर्वाचनमा बाम गठबन्धन (एमाले, माओवादी, जनमोर्चा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुर्गा पौडेल अहिले पुनः उम्मेदवार बन्नुभएको छ । प्रतिगमनविरुद्ध गठबन्धनबाट आफू उम्मेदवार भएको उहाँको भनाइ छ । आफूले थालेका कामहरूलाई पुरा गर्न उम्मेदवार बनेको उहाँ बताउनुहुन्छ । गठबन्धनका दलहरू एकबद्ध भएर लागेकाले आफ्नो जीत  सुनिश्चित रहेको पौडेल दाबी गर्नुहुन्छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट पोलिटब्युरो सदस्य सूर्य थापा उम्मेदवार हुनुहुन्छ । जिल्लाको विकासका निम्ति जनप्रतिनिधि भएर काम गर्न आफू उम्मेदवार भएको उहाँको भनाइ छ । जिल्लाका मतदाताले नयाँ र सक्षम जनप्रतिनिधि चाहेकाले आफ्नो जित सुनिश्चित रहेको थापाको दाबी छ । २०४८ सालदेखि अहिलेसम्म ०७४ सम्मको निर्वाचनमा फरक–फरक दलले जित हासिल गर्दै आएका छन् । ०४८ मा दुवै क्षेत्र काँग्रेस, २०५१ मा काँग्रेस र जनमोर्चा, २०५६ मा दुवै क्षेत्र जनमोर्चा विजयी भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा दुवै क्षेत्र माओवादी विजयी भए भने ०७० को संविधानसभा निर्वाचनमा दुवै क्षेत्र एमालेले जित हासिल गरेको थियो ।

०७४ मा वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीचको प्रतिस्पर्धामा वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल विजयी हुनुभयो । नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज पोख्रेलले ३१ हजार दुई सय ८६ मत र पौडेलले ४७ हजार पाँच सय १४ मत प्राप्त गर्नुभएको थियो ।

जिल्लाबाट जितेका प्रतिनिधि सत्तासँग विमुख हुँदा जिल्लाको विकास पछाडि परेको चर्चा हुने गरेको छ । स्थानीय इमानसिंह भारतीले जिल्लामा ऊर्जा, पर्यटन, कृषिको प्रचुर सम्भावना रहे पनि जिल्लाका प्रतिनिधि सत्तासँग विमुख हुँदा ती काम अघि बढ्न नसकेको बताउनुहुन्छ । जसले गर्दा ३० वर्षसम्म पनि जिल्ला पछाडि परेको उहाँको बुझाइ छ ।

प्रदेश क्षेत्र (क) मा माओवादीका कृष्ण अधिकारी र एमालेका तुलसीराम शर्माबिच प्रतिस्पर्धा छ । प्रदेश क्षेत्र (ख) मा एमालेका हरि प्रसाद रिजाल र नेपाली काँग्रेसका सरोज थापा(रोज राणा) बीच प्रतिस्पर्धा छ । नौ वटा स्थानीय तह रहेको यस जिल्लामा प्रदेश (क) मा ३१ वटा वडा र प्रदेश (ख) मा ३३ वटा वडा पर्दछ । प्रदेश क्षेत्र नं. (क) मा ७४ हजार ६६३ र प्रदेश क्षेत्र नम्बर (ख) मा ८५ हजार ९७ मतदाता छन् ।

अघिल्लो स्थानीय तहको मत परिणाम अनुसार गठबन्धनले सात वटा पालिकामा नेतृत्व लिएको छ भने एमालेले दुई वटा पालिकामा नेतृत्व लिएको छ । जिल्लामा जम्मा एक लाख ५९ हजार सात सय ६० जना मतदाता छन् । जसमध्ये अन्य १, महिला ८१ हजार नौ सय ९० र पुरुष ७७ हजार सात सय ६९ जना रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देवीराम पाठकले जानकारी दिनुभयो । 

चुनावी माहौल तातिरहेका बेला जिल्लामा रहेका साना दलहरूले समेत सम्मानजनक मत परिणाम ल्याउन कसरत गरिरहेका छन् । साङ्गठनिक रूपमा कमजोर रहेका दल राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले र राष्ट्रिय स्वतन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीले सम्मानजनक मत परिणाम ल्याउन घरदैलो तथा भेटघाट अभियानलाई तीव्र बनाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि सात जना, प्रदेश (क)मा चार जना र प्रदेश (ख)मा ५ जनाको उम्मेदवारी परेको छ ।

२०४८ देखिको निरन्तरको चुनावी परिणाम: 

संसदीय निर्वाचन २०४८ 

क्षेत्र नं. १ बाट - शिवराज सुवेदी (नेपाली काँग्रेस)

क्षेत्र नं. २ बाट - मुक्तिप्रसाद शर्मा (नेपाली काँग्रेस)

संसदीय निर्वाचन २०५१ 

क्षेत्र नं. १ बाट- शिवराज सुवेदी (नेपाली काँग्रेस)

क्षेत्र नं. २ बाट - नवराज सुवेदी (राष्ट्रिय जनमोर्चा)

संसदीय निर्वाचन २०५६ 

क्षेत्र नं. १ बाट- हरि आचार्य (राष्ट्रिय जनमोर्चा)

क्षेत्र नं. २ बाट - नवराज सुवेदी (राष्ट्रिय जनमोर्चा)

संविधानसभा निर्वाचन २०६४

क्षेत्र नं. १ बाट- नारायण अधिकारी (नेकपा माओवादी)

क्षेत्र नं. २ बाट -दीपकबहादुर के.सी (नेकपा माओवादी)

संविधानसभा निर्वाचन २०७०

क्षेत्र नं. १ बाट- वामदेव गौतम (नेकपा एमाले)

क्षेत्र नं. २ बाट - हीराबहादुर के.सी. (नेकपा एमाले)

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७०

क्षेत्र नं. १ बाट- दुर्गा पौडेल (राष्ट्रिय जनमोर्चा)

Author

सुजल श्रेष्ठ