• १३ साउन २०८१, आइतबार

आन्तरिक पर्यटककै भरमा पोखरा

blog

सन्तोष सुवेदी

कास्की, कात्तिक २० गते  । आन्तरिक पर्यटकका कारण पोखराको पर्यटन क्षेत्र चलायमान भएको छ। दशैँ, तिहारलगायतका चाडपर्वका कारण स्वदेशी पर्यटक पोखरा घुम्न आएका हुन्। अहिले पोखरामा विदेशी पर्यटक भने फाट्टफुट्ट मात्रै देख्न सकिन्छ। आन्तरिक पर्यटकको भीडभाड छोटो समयका लागि मात्रै भएको र सिजनमा पनि विदेशी पर्यटक कम आएकामा भने व्यवसायी चिन्तित छन्। 

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पाहुनाका कारण मात्र पर्यटन क्षेत्रमा चलहपहल देखिएको बताउनुभयो। “अहिले २५ प्रतिशत मात्र अकुपेन्सी छ। यो बेला अकुपेन्सी ९० प्रतिशत हाराहारीमा हुनुपर्ने हो,” अध्यक्ष सुवेदीले भन्नुभयो। बढेका आन्तरिक पर्यटकमा विदेशी विदेशी पर्यटक पनि थपिएको भए यो बेला पोखरामा राम्रो व्यवसाय हुने चर्चा गर्दै उहाँले आन्तरिक पाहुनामा मात्रै सन्तोष लिनुपर्ने अवस्थाले राम्रो सङ्केत नगरेको बताउनुभयो। 

“साप्ताहिक बिदामा पनि आन्तरिक पाहुनाको आगमन केही बढ्छ। यो बेला त बढ्ने नै भयो तर विदेशी नआएपछि पर्यटन फस्टाउन सक्दैन,” सुवेदीले भन्नुभयो। उहाँका अनुसार विदेशी पाहुना कम आउनुमा रुस र युक्रेनको द्वन्द्व मुख्य कारण हो। त्यसबाहेक कोरोना महामारीपछि चिनियाँ पाहुना पनि अझै आउन पाएका छैनन्। पोखरा चिनियाँ पाहुनाको मुख्य गन्तव्य पनि हो। “प्याराग्लाइडिङ गर्न धेरै चिनियाँ पोखरा आउँथे तर अहिले चिनियाँको आगमन हुन नसक्दा पनि पर्यटन क्षेत्रले नोक्सान खेपेको छ,” उहाँले भन्नुभयो। 

अध्यक्ष सुवेदीका अनुसार पछिल्लो समय पोखरा आन्तरिक पाहुनाको ट्रान्जिट सहर बनेको छ। आन्तरिक पाहुना पनि पदयात्रामा जान थालेका छ। मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर क्षेत्रलगायतका पदमार्गमा अहिले पाहुना पुग्दा पोखराको बसाइ निकै नै कम हुने गरेको छ। अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसायीका अनुसार अहिले पदमार्गमा आन्तरिक पाहुनाको भीडभाड छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष किसम गुरुङका अनुसार अहिले घान्द्रुकमा दैनिक एक हजार पाहुना उक्लिने गरेका छन्। तीमध्ये ७० प्रतिशत हाराहारीमा स्वदेशी र अरू विदेशी पाहुना छन्। “अहिले घान्दु्रकका सबै होटलमा पाहुना छन्। व्यवसायीलाई काम पुगेको छ। हुन त अहिले सिजन विदेशीको हो तर पनि स्वदेशी पाहुना बढी छन्,” उहाँले भन्नुभयो।