• १३ साउन २०८१, आइतबार

देशको विकास गर्नु मेरो कर्तव्य हो : प्रधानमन्त्री देउवा

blog

ग्रामीण क्षेत्रका महिलाद्वारा प्रधानमन्त्री देउवालाई स्वागत गरिँदै । तस्बिर : जगत ऐर

हिक्मत सिंह 

डडेल्धुरा, कात्तिक १९ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा डडेल्धुराको अजयमेरु गाउँपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

आफू पाँच पटक देशको प्रधानमन्त्री भइसकेकाले अब देशको समृद्धि र सुदूरपश्चिमको विकासको पक्षमा लाग्ने बताउनुभयो । डडेल्धुरामा पर्यटकीय सडक निर्माण गरी अन्य जिल्लाभन्दा डडेल्धुराको विकासमा बढी जोड दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

डडेल्धुरामा एयरपोर्ट निर्माण, मेडिकल कलेज सञ्चालनलगायतका महत्त्वपूर्ण काम मेरो पालामा नै सम्पन्न गर्ने धोको रहेको बताउनुहुँदै अबको मेरो काम भनेकै देशको विकास र समृद्धि ल्याउने रहेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “हामीले संसद् भङ्ग हुनबाट रोक्यौँ जोगायौँ, गठबन्धन चुनावपछि पनि दिगो र बलियो हुनेछ ।” आफूसँग निरन्तर तीन पटक निर्वाचन लड्नुभएका माओवादी केन्द्रका नेता खगराज भट्ट गठबन्धनबाट प्रदेश सभामा उम्मेदवार रहेको बताउँदै उहाँले माओवादी, समाजवादी लगायतका दलसँगको गठबन्धन तत्काल नटुट्ने उहाँले बताउनुभयो । 

देश विकासका लागि स्थिर सरकार आवश्यक रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “वर्तमान सरकाले देश र जनताको पक्षमा काम गर्नेमा विश्वास गर्नुहोला । गठबन्धन जति बलियो भयो त्यति सरकार बलियो हुन्छ ।”  

प्रधानमन्त्री देउवाले सोमबार आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको चुनावी आमसभामा सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।