• १२ असोज २०८१, शनिबार

अब नागरिकतासँगै प्यान

blog

काठमाडौँ, कात्तिक १८ गते । नागरिकता प्रदान गर्ने समयमा नै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउने तयारी सुरु गरिएको छ । गृह मन्त्रालयसँगको समन्वयमा आन्तरिक राजस्व विभागले यस्तो तयारी थालेको हो । 

आव २०७९/८० को बजेटमा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी तयारी अगाडि बढाइएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । “नागरिकता दिने समयमा नै प्यान उपलब्ध गराउँदा मिलान गर्नुपर्ने विवरण त्यसको प्राविधिक पक्षका विषयमा अहिले छलफल भइरहेको छ,” उहाँले भन्नुभयो । विभागले बढीमा चालू आर्थिक वर्षको अन्त्यसम्म यस्तो व्यवस्था कार्यान्वयन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । 

नागरिकताबाहेक राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने समयमा पनि व्यक्तिगत प्यान उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्ने विभागको तयारी छ । 

यस्तै विभागले चारपाङ्गे्र सवारीसाधन खरिद गर्दा पनि अनिवार्य रूपमा प्यान पेस गर्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । यसका लागि यातायात व्यवस्था कार्यालयलाई पत्र लेखेर जानकारी गराइएको प्रवक्ता प्याकुरेलले बताउनुभयो । यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने सन्दर्भमा विभागले थप प्रयास थाल्ने पनि उहाँले 

जानकारी दिनुभयो । 

कराधार विस्तार गर्ने लक्ष्यअनुसार विभागले व्यक्तिगत स्थायी लेखा नम्बर वितरणलाई बढावा दिएको जनाएको छ । यसैअन्तर्गत नेपालमा काम गर्न श्रम सहमति प्राप्त गरेका विदेशी नागरिकले श्रम स्वीकृति र भिसा नवीकरण गर्दा तथा पेसा व्यवसायमा संलग्न व्यक्तिको पेसागत प्रमाणपत्र नवीकरण गर्दा पनि स्थायी लेखा नम्बर र करचुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । 

विभागले चालू आर्थिक वर्ष दुई लाख व्यक्तिगत प्यान, एक लाख ७५ हजार व्यावसायिक प्यान र ७५ हजार अन्तःशुल्क इजाजत जारी गर्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षको साउनसम्म १७ लाख ८० हजारले व्यावसायिक प्यान लिएका छन् । त्यस्तै व्यक्तिगत प्यान लिनेको सङ्ख्या ३१ लाख नाघेको छ । करकट्टी गर्ने निकायले लिएको प्यान सङ्ख्या करिब १९ हजार पुगेको छ ।