• १३ साउन २०८१, आइतबार

त्रिपुरासुन्दरीमा बलिसहितको जात्रा सुरु

blog

बैतडी समाचारदाता

बैतडी, कात्तिक १६ गते । देशका उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा राँगा/बोकाको बलिसहितको जात्रा सुरु भएको छ । मेलामा भारतीय दर्शनार्थीसमेत राँगा लिएर पूजाआजाका लागि आउने गरेका छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल पक्षको अष्टमीमा पशुबलिसहित जात्रा हुने गरेको मन्दिरका मुखिया चन्द्रसिंह थापाले बताउनुभयो । 

उहाँका अनुसार भारतबाट पनि १५/२० वटा राँगा आउँछन् । मेलामा भारतको पिथौरागढ, अलमोडालगायतका जिल्लाबाट तीन हजारभन्दा बढी धार्मिक पर्यटक आउँछन् । त्रिपुरासुन्दरी भगवती मन्दिरमा तीन दिन, तीन रात जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा छ । यो जात्रामा बसाइँसराइ गरेर अन्यत्र गएकाहरूसमेत पुख्र्यौली थलोमा फर्कने गरेका स्थानीय मन्दिरका पुजारी पण्डित विष्णुदत्त लेखकले बताउनुभयो । 

त्रिपुरासुन्दरी मन्दिरमा वर्षमा ६२ दिन पूजा लाग्ने र प्रत्येक औँसी, पूर्णिमा, सङ्क्रान्ति, कार्तिक शुक्ल पक्ष एवं चारवटा नवरात्रिमा पूजा लाग्ने उहाँले बताउनुभयो । बैतडी सदरमुकाम गोठालापानीबाट तीन किलोमिटर पश्चिम झुलाघाट सडकखण्ड पार गरेपछि त्रिपुरासुन्दरी मन्दिर पुग्न सकिन्छ । त्रिपुरासुन्दरीलाई रणसैनी भगवतीको नामले समेत चिनिन्छ । अन्न भर्ने एक रैण्या जौ (४० माना)मा प्राप्त भएकी हुनाले रणसैनी नाम रहेको किंवदन्ती छ ।  

बैतडी सदरमुकाम गोठालापानीनजिकै रहेको यो मन्दिर बैतडीको प्रसिद्ध धार्मिक स्थल हो । प्यागोडा शैलीमा निर्माण गरिएको त्रिपुरासुन्दरीको मन्दिरको छाना ताम्रपत्रले बनाइएको छ । नेपाल सरकारले पर्यटन वर्ष–२०२० मा त्रिपुरासुन्दरीलाई देशभरिका उत्कृष्ट एक सयवटा गन्तव्यमा राख्नुले पनि यसको महत्व झन् बढेको छ । 

नेपाल–भारत सीमानाका झुलाघाटमा मोटर पार हुने पुल नहुँदा भारतीय पर्यटक महाकाली नदीमाथि रहेको झुलाघाटस्थित झोलुङ्गे पुल तरेर त्रिपुरासुन्दरीको दर्शन गर्न आउने गरेका छन् । भारतबाट राँगाको बलि दिन आउने धार्मिक पर्यटक भने महाकाली नदीमा जोखिम मोलेर राँगा तराएर आउने गरेका छन् । झुलाघाटमा पक्की पुल निर्माण हुन सके लाखौँ धार्मिक पर्यटक भित्रिने सम्भावना छ ।