• १३ साउन २०८१, आइतबार

डेउडा खेल्दै मत माग्दै

blog

बैतडी समाचारदाता 

बैतडी, कात्तिक १६ गते । सुदूरपश्चिमका विभिन्न मन्दिरमा कात्तिकमा लाग्ने जात्रामा पुगेर मन्दिरको दर्शन गर्दै डेउडा खेलेर उम्मेदवारले मत माग्न भ्याएका छन् । बैतडीको शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिरमा लाग्ने मेलाको दर्शनसँगै सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारले डेउडा खेलेर मत मागेका छन् । 

चुनावी अभियानमा बैतडीको शिवनाथ पुग्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर र बैतडी प्रदेश सभा क्षेत्र (ख)मा नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्टले मन्दिरको दर्शनसँगै डेउडा खेलेर मत माग्न भ्याउनुभयो । प्रतिनिधि सभामा एकमात्र क्षेत्र रहेको बैतडीमा नेकपा (माओवादी केन्द्र)का कुँवर प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ ।

चुनावी अभियानकै क्रममा नेकपा (एमाले)बाट प्रतिनिधि सभाका उम्मेदवार दामोदर भण्डारी र प्रदेश निर्वाचन क्षेत्र (ख)का उम्मेदवार लीलाधर भट्टले पनि शिवनाथ मन्दिर दर्शन गरेर डेउडा खेल्दै मत माग्नुभएको छ । चुनावी अभियानका क्रममा बैतडीको शिवनाथ पुगेका बेला प्रसिद्ध मेलाको दर्शन गर्न जाने क्रममा उम्मेदवारद्वयले डेउडा खेल्नुभएको नेपाली कांग्रेसका नेता महेश भट्टले जानकारी दिनुभयो । शिवनाथ मेलाको दर्शन गर्न भारतीय दर्शनार्थीसमेत मेलामा आएका थिए । 

आइपुग्यो निर्वाचन सामग्री 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा निर्वाचन सामग्री आइपुगेको छ । प्रत्यक्षतर्फको मतपत्रबाहेक अन्य सामग्री जिल्लामा आइपुगेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिनुभयो । निर्वाचन अधिकारी फुँयालका अनुसार निर्वाचनका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र, स्वस्तिक छाप, कपडा, मतपेटिकालगायत सामग्री जिल्लामा आइपुगिसकेको छ । प्रत्यक्षतर्फको मतपत्र आइसकेपछि मतदान अधिकृतलाई कात्तिक अन्तिम साता तालिम दिएर सबै मतदान केन्द्रका लागि सामग्री छुट्याएर राखिने जनाइएको छ ।

उहाँले भन्नुभयो, “निर्वाचनका लागि आवश्यक तयारी भइरहेको छ । निर्वाचन आयोगका तर्फबाट निर्वाचन सामग्री आइसकेको छ ।”

बैतडीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन् । आसन्न निर्वाचनका लागि १२९ वटा मतदान स्थल र २१० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला कारागारमा कैदीबन्दीका लागि एउटा अस्थायी मतदान केन्द्र कायम गरिएकोे छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि बैतडीमा एक लाख ५० हजार १५७ मतदाता छन् ।