• १६ भदौ २०८१, आइतबार

प्रतिस्पर्धामा उपसभापति र सचिव

blog

वालिङ समाचारदाता

वालिङ, कात्तिक ६ गते । स्याङ्जाको क्षेत्र नं. २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेबाट सचिव पद्माकुमारी अर्यालबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। 

राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत साना दल तथा स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट उपसभापति बन्नुभएका गुरुङका लागि संसदीय निर्वाचनको प्रतिस्पर्धा भने पहिलो हो। २०६४ र २०७० सालको संविधान सभामा गुरुङ समानुपातिकबाट संविधान सभा सदस्य बन्नुभएको थियो। कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठ समानुपातिकको बन्द सूचीमा बसेपछि धनराजलाई टिकट पाउन धेरै मेहनत गर्नु परेन। अर्कोतर्फ केन्द्रीय उपसभापतिसमेत भएकाले टिकटका अन्य प्रतिस्पर्धी सहजै पाखा लागे। 

त्यस्तै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता एवं बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर पद्माकुमारी अर्याल चर्चामा आउनुभएको थियो।

उहाँ नेकपा एमाले अध्यक्ष केपी ओली सरकारमा लामो समय भूमि सुधार र कृषि तथा पशुपन्छीमन्त्री बन्नुभएको थियो। पद्मा भूमि सुधारमन्त्री रहेको समयमा नेपालको चुच्चे नयाँ नक्सा जारी भएको थियो भने सगरमाथाको उचाइ नापिएको थियो। 

गत वर्षको मङ्सिरमा चितवनमा भएको महाधिवेशनबाट अर्याल एमाले सचिव बन्नुभएको हो। एमाले स्याङ्जाको अध्यक्षसमेत बनेर काम गरिसक्नुभएकी अर्याल छोटो समयमा राजनीतिक उचाइ प्राप्त गर्ने नेतामा पर्नुहुन्छ। केही समय पहिलेसम्म अर्याल समानुपातिकमा बस्ने र अर्को व्यक्तिलाई चुनावमा उतार्ने चर्चा थियो तर पदाधिकारी अनिवार्य प्रत्यक्ष चुनावमा लड्नुपर्ने नीति पार्टीले बनाएपछि उहाँ चुनावी अभियानमा लाग्नुभएको एमाले नेताको भनाइ छ। यसअघि चुनाव जितेको, पार्टी पदाधिकारी र महिला उम्मेदवार भएका कारण पार्टीबाट उहाँ नै सो क्षेत्रको उम्मेदवार बन्नुभएको हो।

विगतमा स्याङ्जालाई कांग्रेसको गढ मान्ने गरिएको थियो। गोपालमान श्रेष्ठले एकछत्र रजाईं गरेको यो क्षेत्रमा २०७४ सालको चुनावमा एमालेले जित निकालेको थियो। कांग्रेसको आन्तरिक विवाद र टिकट वितरणमा समस्या देखिँदा हार बेहोर्नु परेको कांग्रेसी नेताहरूको भनाइ छ। अर्कोतर्फ एमाले र माओवादीको तत्कालीन तालमेलका कारण २०७४ सालको प्रतिनिधि सभामा स्याङ्जाका दुवै क्षेत्रमा एमाले विजयी भएको थियो। 

यस्तै एक प्रदेशमा तत्कालीन गठबन्धनकै माओवादी र अर्को प्रदेश सभाको सिटमा कांग्रेस विजयी भएको थियो। पूर्वमन्त्री पद्मा अर्यालले ३५ हजार १४२ मत प्राप्त गर्दा गोपालमानले ३१ हजार ४३६ मत प्राप्त गर्नुभएको थियो। पद्मा आफ्नो जित दोहो-याउने दाउमा हुनुहुन्छ भने धनराज इतिहास रच्ने दाउमा हुनुहुन्छ। 

दुवै अर्जुनचौपारी गाउँपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ अर्थात् क्षेत्र नं. १ मा स्थायी ठेगाना हो तर पद्मा अर्यालको घर भने अहिले वालिङ नगरपालिका वडा नं. १ मा छ। 

धनराज गुरुङ संविधान सभाको सदस्यका रूपमा दुई पटक संसद् भएर काम गरिसक्नुभएको छ भने पद्मा अर्याल यसअघि संविधान सभा सदस्य र निवर्तमान सांसद रहनुभएको थियो।