• १६ भदौ २०८१, आइतबार

कृषि परम्परा

दुई सय वर्ष पुरानो चलन कायमै

blog

नवीन शिशिर विक

बागलुङ, कात्तिक २ गते । सामान्यतया खेतीबाली पाकेपछि कृषकले आफ्नो फुर्सद र मौसम अनुकूलमा भित्र्याउने  गर्छन्। बागलुङको बलेवा क्षेत्रमा भने विशेष दिन तोकेर अन्नबाली भित्र्याउने  र नयाँ फल खाने परम्परा छ। 

नयाँ धानबाली भित्र्याउन पुली लिने र चामल चाख्न न्वागी नखाई प्रयोग गरिँदैन। यो करिब दुई सय वर्ष पुरानो चलन रहेको बताइन्छ। बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने विशेष दिन तोकिएको छ। यसलाई स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिन्छ। स्थानीय जातको गुडुरा धान काट्न कात्तिक ४ गते बिहान ९ बजेलाई शुभ दिन तोकिएको स्थानीय कृषकले बताएका हुन। बागलुङ नगरपालिका–१३, पैयुँटारका सुवासचन्द्र पौडेल र ज्योतिषी लेखनाथ पौडेलले ज्योतिषशास्त्रका आधारमा धान काट्ने दिन र नयाँ फल चाख्ने मिति तोक्नुभएको हो ।

ज्योतिषशास्त्रअनुसार कात्तिक १९ गते बिहान ९ः०० बजे नयाँ धानको चामल खान सुरु गर्ने दिन उत्तम रहेको बलेवा कोटबाट जारी विज्ञप्तिमा उल्लेख छ। बलेवा क्षेत्रका किसानले आफ्नै खेतमा लगाएको धान काट्न मिति तोक्ने चलन १८औँ शताब्दीबाट सुरु भएको बताइन्छ। 

बलेवाका साबिक छवटा गाउँ विकास समितिलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो। बलेवा कोटले छवटै गाउँका किसानलाई धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन छ। बाइसे चौबीसे राजाका पालामा १८४२ सालमा बलेवा कालभैरव स्थापना गरिएको इतिहास अध्येता डा. आरुणी आचार्यले बताउनुभयो। “हामीले जान्दा धान्य छेदन र नवान्नप्राशनको मिति कोटले तोक्ने चलन थियो,” बागलुङ नगरपालिका–१२ का निवर्तमान वडाध्यक्ष गुरुदत्त पाठकले भन्नभयो। 

यो चलन अहिले पनि कायम छ।” नवमीका दिन बलेवा कोटमा विशेष पूजाआजापछि ज्योतिषीहरूको समूहले पुली र न्वागीको मिति तोक्ने चलन छ। पुली लिएपछि मात्रै धान काट्ने र न्वागी खाएपछि मात्रै नयाँ चामल प्रयोग गर्ने प्रचलन छ। “कोटले तोकेको दिन सबैले मान्ने गरेका छन्,” पाठकले भन्नुभयो, “नमान्नेलाई समाजले पनि राम्रो मान्दैन।” वैदिक विधि नपुर्याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने जनविश्वास छ।