• २२ वैशाख २०८१, शनिबार

उपराष्ट्रपति पुनद्वारा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

blog

नवौं राष्ट्रिय खेलकुदको औपचारिक समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।

काठमाडौं, असोज २८ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गर्नुभएको छ। पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले नवौं खेलकुदको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले खेलकुद उत्सवको सफलताको शुभकामना दिनुभएको छ। 


‘‘माछापुच्छ्रेको काख, फेवातालको किनार, रुपाताल, सेतीको किना र देशकै सुन्दर नगरी पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गर्व लागेको छ’’, उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले भन्नुभयो, ‘‘यही कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुन लागेको नेपाली खेलाडी र खेलप्रेमीको यो महान् उत्सव खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।"

समारोहका मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गर्नुभएको छ । झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रेलाई रेखांकित गरिएको छ । मन्त्री गहतराजले खेलकुदको विकासका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने बताउनुभयो । खेलकुदको गुरुयोजना लगायतका कार्यक्रमअघि बढाइएको उहाँले बताउनुभयो । केन्द्रदेखि स्थानीय तहसम्म खेलसम्बद्ध निकायहरू खेलको विकासका लागि लागेको उहाँले बताउनुभयो । सङ्घीय संरचनाअनुसार सबै प्रदेशले आफ्नो तयारी सहित पहिलोपटक यस प्रतियोगितामा सहभागी भएको उहाँले बताउनुभयो । यस प्रतियोगितासँगै आगामी दिनमा तयार हुने खेलाडीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताउनुभयो। गण्डकी प्रदेशमा खेल पर्यटनका पर्याप्त सम्भावना रहेको उहाँले बताउनुभयो। खेलका माध्यमबाट अन्तराष्ट्रिय एवं राष्ट्रिय रुपमा एकता कायम गर्न सकिने उहाँले बताउनुभयो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अझै उजागर गर्ने बताउनुभयो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले स्वागत गर्दै नेपाली खेलकुदको इतिहासमा यसको महत्वपूर्ण स्थान रहने बताउनुभयो।  


राष्ट्रिय खेलकुद ३९ वर्षपछि पोखरा फर्किएको हो । यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र (पोखरा) ले आयोजना गरेको थियो । देश सङ्घीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो । प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपियाँ बजेट दिएको छ । 


प्रतियोगिताको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गरेपनि प्रतियोगिताका कतिपय खेलहरू यसअघि नै सुरु भइसकेका छन् । शुक्रबारसम्म पदक तालिकामा आर्मी क्लब अगाडि छ । आर्मीले पाँच स्वर्ण, ६ रजत र सात कांस्य पदक जितेको छ । दोस्रो स्थानमा रहेको बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कांस्य जितेको छ । यस्तै एपीएफ क्लबले दुई स्वर्ण, चार रजत र सात कांस्य जितेको छ । पुलिस क्लब र सुदूर पश्चिम प्रदेशले एक एक स्वर्ण जितेको छ । 

कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरबाट ६ हजार १५७ खेलाडीले चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । 


यसैगरी चार सय चार नै रजत र ६ सय १ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ । प्रतियोगितामा सहभागी ११ टोलीहरूमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रहेका छन् ।