महान् अमेरिकी वैज्ञानिक थोमस अल्भा एडिसन केही महिना मात्र विद्यालय गएका थिए। कक्षामा पढ्दा सुस्तः मनस्थितिका कारण देखाउँदै विद्यालयबाट निकालिएका एडिसनलाई आमाले घरमै अनौपचारिक रूपमा पढ्ने, लेख्ने र अङ्कगणितको जानकारी दिएकी दिइन् । पछि उनी महान् वैज्ञानिक भए। उनले विद्युतीय बल्बलगायत हजारौँ आविष्कार गरेर मानव जीवनलाई सरल बनाए।
साहित्यमा नोबेल पुरस्कार जित्ने एसियाका पहिलो व्यक्ति रवीन्द्रनाथ टैङ्गोर एक महान् कवि, उपन्यासकार, नाटककार, चित्रकार र दार्शनिक थिए। उनी पनि औपचारिक शिक्षाबाट टाढा रहे। विद्यालय शिक्षामा रुचि नभएकाले उनी युनिभर्सिटी कलेज लन्डनमा कानुन पढ्न गए तर उनले त्यो पनि छोडे र शेक्सपियरका विभिन्न रचना आफैँले पढेर ज्ञान हासिल गरेका थिए।
सुस्तः मनस्थितिका कारण देखाएर विद्यालयबाटै निकालिएका महान् वैज्ञानिक एडिसन र औपचारिक शिक्षामा रुचि नभएका विश्वप्रसिद्ध साहित्यकार टैङ्गोरलाई आफ्नो कार्य क्षेत्रमा अगाडि बढ्न औपचारिक शिक्षाको आवश्यकता परेन, उनीहरूको सिर्जनशीलतालाई अनौपचारिक शिक्षाले रोकेन पनि। चीन, जापान, कोरिया, फिनल्याण्डलगायत विश्वका धेरै मुलुकमा अङ्ग्रेजी भाषालाई कुनै महìव दिइँदैन। अङ्ग्रेजी भाषालाई महìव नदिँदा ती मुलुकको आर्थिक विकासको गति रोकिएन।
चीन विश्वकै धनी राष्ट्र बनेको छ। जापान आर्थिक रूपमा विश्वमै सम्पन्न छ। दक्षिण कोरिया, जुन ४०÷५० वर्षअगाडि हामीभन्दा गरिब मुलुक थियो, अहिले हामीभन्दा कैयौँ गुणा सम्पन्न छ। त्यहाँ हजारौँ नेपाली रोजगारीका लागि पुग्छन्। फिनल्यान्डको शिक्षा प्रणाली संसारको उत्कृष्टमध्ये एक हो, जहाँ स्विडिस र फिनिस भाषाको माध्यमबाट शिक्षा दिइन्छ।
हामी भने भाषाभित्र शिक्षाको गुणस्तर खोजिरहेका छौँ। आफ्नो मौलिक भाषा, संस्कृति र सभ्यतालाई मेटाएर गुणस्तरको नाममा अङ्ग्रेजी भाषालाई बढावा दिइरहेका छौँ। भाषा मानिसबीचको भावना वा विचार आदानप्रदान गर्ने माध्यम भए पनि यसले शिक्षाको गुणस्तरमा कुनै फरक पार्दैन। हामी भने बालबालिकालाई सीप सिकाउनुको सट्टा अङ्क र भाषालाई प्राथमिकता दिइरहेका छौँ।
हामीले प्रदान गर्ने शिक्षाले बालबालिकालाई जीवनका लागि तयार पार्छ वा पार्दैन, उत्पादनसँग जोडेर आत्मनिर्भर बन्न प्रेरित गर्छ वा गर्दैन, देशको आवश्यकता पूरा गर्न मद्दत गर्छ वा गर्दैन, समस्या समाधानका उपाय खोज्न सिकाउँछ वा सिकाउँदैन, राष्ट्रिय शिक्षा नीतिको लक्ष्यअनुसार विद्यालयले प्रतिस्पर्धी, बालमैत्री, रोजगारमूलक र उत्पादनशील नागरिक तयार गर्न मद्दत गर्छ वा गर्दैन भन्ने विषयमा हामी मौन छौँ। हामीले अङ्क र भाषालाई मात्रै जोड दियौँ। यद्यपि बालबालिकाको सिर्जनशीलताको विकासमा ध्यान दिएनौँ।
अस्ट्रियाका नोबेल पुरस्कार विजेता अल्बर्ट आइन्स्टाइनले “गुणस्तरीय शिक्षा भनेको विषयवस्तुको तथ्य जान्न मात्र होइन, सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने तालिम हो” भनेर परिभाषित गरेका छन्।
यस परिभाषाले के स्पष्ट देखाउँछ भने गुणस्तरीय शिक्षा भनेको पाठ्यपुस्तकको ज्ञान हासिल गर्नु मात्र नभई बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नु पनि हो। अर्काे शब्दमा भन्ने हो भने बालबालिकामा सिर्जनशीलताको विकास गर्न नसक्ने शिक्षा गुणस्तरीय शिक्षा हुन सक्दैन।
हामीले बालबालिकालाई पाठ्यपुस्तकहरू घोक्न लगायौँ। पाठ्यपुस्तक घोकेर परीक्षामा सोधिएका प्रश्नको हुबहु उत्तर लेख्ने र अधिकतम अङ्क प्राप्त गर्नेलाई राम्रो विद्यार्थी भनेर परिभाषित ग-यौँ। अधिकतम अङ्क प्राप्त गर्नु नै गुणस्तर हो भन्यौँ। बालबालिकाको अङ्ग्रेजी बोल्न सक्ने क्षमतालाई गुणस्तरसँग दाँज्यौँ। बालबालिकामाथि जबरजस्ती विदेशी भाषा थोपा-याे। सिर्जनशीलताको विकास नगरेर उनीहरूमाथि अन्याय ग-यौँ।
बालबालिकालाई सीप सिकाएर आत्मनिर्भर बनाउनुको सट्टा भाषालाई मात्र प्राथमिकता दिँदै ग¥यौँ। हामीले हाम्रो आवश्यकतालाई पहिचान गर्न सकेनौँ। हामीलाई ठूलो धनराशि खर्च गरेर तरकारी र चामलको आयात रोक्ने तथा कपडा र खाद्यान्नजस्ता वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने जनशक्तिको आवश्यकता छ। चीनबाट करोडौँको जनै ल्याउने होइन, चीनलाई आवश्यक पर्ने हजारौँ वस्तु उत्पादन गरेर निर्यात गर्नसक्ने जनशक्तिको खाँचो छ। अङ्ग्रेजी भाषा सिकेर विदेशी माटोमा पसिना बगाउन जाने होइन, सीप सिकेर स्वदेशी माटोमै सुन फलाउन सक्ने जनशक्ति चाहिएको छ। हामीलाई यस्तो शिक्षा नीति आवश्यक छ, जसले हाम्रो बाँझो भूमिलाई उपयोग गर्न सकोस् र अरूको नोकर होइन, हामीलाई मालिक बनाउन सकोस्।
रुचि र आवश्यकताको सम्मिश्रणले मात्र उत्कृष्ट उत्पादन हुन सक्छ। बालबालिकाको रुचिमा आधारित पाठ्यक्रमको निर्माण र सोहीअनुसार सिकाइ क्रियाकलाप सञ्चालन हुन नसक्दा कक्षा छाड्ने र उच्च शिक्षा लिन नसक्ने बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। यद्यपि हामीले शिक्षालाई रहर र बाध्यताको सम्मिश्रण बनाइरहेका छौँ। बालबालिकाको रुचि र आवश्यकतामा आधारित सिकाइलाई जोड दिन नसक्दा उनीहरूको भविष्य बर्बाद हुँदै छ।
कृषि वैज्ञानिक मदन राईले २० वर्षअघि खोटाङमा ‘पढ्दै र कमाउँदै’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा सञ्चालन गर्नुभयो। शुभम् फाउन्डेसनमार्फत दिक्तेल बजारमा सञ्चालित जनजागृति माध्यमिक विद्यालयले हरेक बालबालिकालाई सीप सिकाउँछ। सिकाइलाई उत्पादनसँग जोड्दै उद्यमशीलताको भावना जगाउँछ। यसले दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक ज्ञानसमेत दिन्छ।
सुर्खेत बड्डीचौरको जनज्योति माध्यमिक विद्यालयमा पनि बालबालिकालाई विभिन्न सीप सिकाइन्छ, काम गर्न सिकाइन्छ। विद्यार्थीले कुखुरा, खसी–बाख्रा, माछा, मौँरी पाल्छन्, च्याउ खेती गर्छन्, तोरी फलाउँछन्। उत्पादित सामान बिक्री गर्छन्। यी विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै भाषा घोकाइँदैन। कक्षामा नेपाली बोल्दा बालबालिकालाई जरिवाना गरिँदैन, अङ्कलाई भन्दा सीपलाई प्राथमिकता दिइन्छ। बालबालिकालाई सीप सिकाएर उद्यमी बन्न प्रोत्साहित गरिन्छ। आफ्नो खेतबारी बाँझो राखेर विदेश नजान प्रोत्साहित गरिन्छ। उत्पादनमा जोड दिँदै आयातित वस्तुभन्दा स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गरिन्छ।
सुधार भयो भनेर भ्रम छरेका तर निजीको नक्कल गरी सञ्चालित सामुदायिक विद्यालयमा यस्ता विद्यार्थीले भर्ना पाउँदैनन्। उल्टै त्यहाँ पढ्न आउने बालबालिकाबाट चर्काे शुल्क असुल गरिन्छ। भाषाको व्यापार नगर्ने तर समाज र राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक र जीवनोपयोगी शिक्षा दिने खोटाङको जनजागृति र सुर्खेतको जनज्योति माविको कतै चर्चा भएको पाइँदैन। सञ्चार माध्यमले पनि निजी विद्यालयबाट विद्यार्थी जम्मा गरेर भाषाको व्यापार गर्ने सामुदायिक विद्यालयकै चर्चा–परिचर्चा गर्ने गर्छन्। जीवनोपयोगी र व्यावहारिक शिक्षा दिने संस्थालाई खासै वास्तै गरिएको छैन।
तसर्थ अङ्ग्रेजी भाषा पढाउने र तीन घण्टाको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई नमुना विद्यालयको ‘टाइटल’ दिने सरकारी नीतिलाई सच्याउन जरुरी छ। अङ्ग्रेजी माध्यमबाट पढाउँदैमा विद्यालय सुधार भएको ठान्ने हाम्रो सोच र मानसिकता बदल्नुपर्छ। बालबालिकालाई भाषा होइन, सीप सिकाऔँ।
पाठ्यपुस्तक कण्ठ गराउनेभन्दा बालबालिकाको रचनात्मक पक्षको विकासमा ध्यान केन्द्रित गरौँ। भाषाको नाममा हुने शिक्षाको व्यापारलाई रोकौँ। ‘एक विद्यालय एक सीप’को अवधारणा लागू गरौँ। जीवनोपयोगी र व्यावहारिक शिक्षामा जोड दिऔँ। सिकाइलाई उत्पादनसँग जोड्ने प्रयास गरौँ।