तम्घास,असोज २० गते । केही दिन अगाडि देखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा काली गण्डकी कोरिडोर अवरुद्ध भएको छ । जिल्लाको काली गण्डकी गाउँपालिकाको हर्मिचौर देखी पुर्तिघाट सडक खण्डको बिच बिचमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको काली गण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले बताउनुभएको छ । वर्षा रोकिएपछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने उहाँको भनाई छ ।
यस्तै मदन भण्डारी राजमार्गको तम्घास सिमल टारी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । सो सडकखण्डको फूलबारी लगायत बिच बिचमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण रुद्ध बेनी वामीटक्सार सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै ग्रामीण स्तरका प्राय सबै सडकहरू अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले यात्रा गर्दा सजग भएर यात्रा गर्न आग्रह गरेको छ । यात्रा गर्नू भन्दा पहिले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र प्रहरीमा बुझेर मात्रा यात्रा गर्न प्रहरी र जिल्ला प्रशासनले आग्रह गरेको छ ।