• १२ असार २०८१, बुधबार

विकृतिविरुद्ध सडक नाटक

blog

राजन रावत 

हुम्ला, असोज १४ गते । गाउँगाउँमा अहिले पनि विद्यमान विकृति तथा विसङ्गतिविरुद्ध स्थानीय कलाकारद्वारा सडक नाटक प्रस्तुत गरिएको छ । स्थानीय भाषा र देउडा गीतमार्फत कलाकारहरूले गाउँघरमै पुगेर सडक नाटक देखाएका हुन् । 

सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाले समाजमा हुने सबै खाले विकृति, विसङ्गतिविरुद्ध जनचेतना फैलाउन सडक नाटकमार्फत कलाकारहरूले सन्देश दिने कार्य गरेको बताउनुभयो । अहिले पनि जिल्लामा बोक्सी, छाउ, अछूत, बालविवाह, बहुविवाह, सुत्केरीलाई गोठमा राख्ने, सुत्केरी र शिशुले हरियो सागपात खान नहुने, बिरामी भए धामी बसाल्नेलगायतका विकृति रहँदै आएकोमा त्यसविरुद्ध सडक नाटकमार्फत कलाकारले सन्देश दिने कार्य गरेको बताउनुभयो । 

उहाँले बालविवाह सबैभन्दा ठूलो समस्या रहेको बताउँदै त्यसविरुद्ध सडक नाटकमार्फत कानुनी कुराका बारेमा जानकारी दिने कार्य भएको बताउनुभयो । नाटकको विषयवस्तु र आधार विकास नेपालले तय गरेको थियो । नाटक तयारी र प्रदर्शन गर्ने जिम्मेवारी पाएको कर्णाली कलाकार संस्थाका अध्यक्ष मानबहादुर रावतले गाउँगाउँमा चेतना फैलाउने कार्य भएको बताउनुभयो । उहाँले नाटकमा स्थानीय भाषाको प्रयोग र देउडा गीतमार्फत विकृतिविरुद्ध सन्देश दिने कार्य भएकाले यसबाट समाजमा केही परिवर्तन हुने अपेक्षा व्यक्त गर्नुभयो ।