• १३ साउन २०८१, आइतबार

प्राचीन हिङ्लोमा दशैंको पिङ स्थापना

blog

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, यहाँ दशैंमा मेला लाग्ने गर्छ । फाइल तस्बिर

गोकर्ण दयाल 

बैतडी, असोज १२ गते । वडा दशैंमा पिङ खेल्न बैतडीका भगवती मन्दिर परिसरमा १४ औँ शताब्दीतिर स्थापना गरिएको प्राचीन हिङलो सिँगार्ने काम सुरु भएको छ । ४० फिट लामो फलामको साङ्लोलाई सालको काठमा अड्याएर बनाएको प्राचीन पिङलाई हिङलो भन्ने गरिन्छ । 

घटस्थापनाका दिन मन्दिरमा जमरा छरेसँगै सुरु भएको दशैंलाई हर्षोल्लासमय बनाउन बैतडीका पाँच वटा भगवतीका मन्दिर परिसरमा रहेका ४० फिट अग्लो हिङलो सिँगार्ने काम सुरु भएको त्रिपुरासुन्दरी भगवती मन्दिरमा मुखिया चन्द्रसिंह थापाले बताउनुभयो ।  

मन्दिर परिसरमा स्थायी रूपमा रहने हिङलोलाई दशैंमा रङरोगन गरेर चिटिक्क पार्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । हिङलो अड्याउने सालको काठ कमजोर छ कि भनेर जाँच गर्ने, काठको उचित सरसफाइ गर्ने काम भइरहेको उहाँले बताउनुभयो । 

त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा रहेको हिङलोको सालको काठ २०६५ सालमा पुनः फेरिएकाले हिङलो सुरक्षित रहेको मन्दिरका भण्डारी केशरसिंह थापाले बताउनुभयो ।   दशैंमा विषेशपूजा लाग्ने सुदूरपश्चिमका सात वटै भगवती बहिनीका मन्दिर परिसरमा हिङलो रहेको संस्कृतविद् चन्द्रमोहन तिवारीले बताउनुभयो । 

सात भगवतीमध्ये बैतडीमा त्रिपुरासुन्दरी, निङलासैनी, मेलौली, डिलासैनी, कफलासैनी गरी पाँच भगवतीका मन्दिर रहेका छन् । थप दुई वटा भगवतीका मन्दिर उग्रतारा डडेल्धुरा र शैलेश्वरी डोटीमा पनि हिङलो रहेको तिवारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “१४ औँ शताब्दीमा स्थापना भएका भगवतीका मन्दिरसँगै हिङलो पनि राखिएको पाइन्छ । हिङलो सधैँ र सबैका लागि खुला रहन्छ । दशैंका बेला पिङ खेल्नेको बढी भीड लाग्ने भएकाले सुरक्षाका दृष्टिले हिङलोलाई राम्ररी जाँचबुझ गरिन्छ ।”  

हिङलोसम्बन्धी रोचक उखान “हुने गाउँ हिङलो, नहुने गाउँ चुच्चाई” जनबोलीमा अहिलेसम्म झुन्डिरहेको संविधानसभाका पूर्व सदस्य एवम् संस्कृतिका जानकार पूनरसिंह दयालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “उखानले सभ्य गाउँमा पिङ खेल्न हिङलो हुन्छ भन्न खोजेको हो भने खाँबोमाथि काठ राखेर खेलिने चुच्चाईमा दुर्घटना र चोटपटक लाग्ने भएकाले त्यसलाई नहुने भनिएको हो । शताब्दीअघि निर्माण भएको हिङलो अहिले पनि सुरक्षित रहेको उखानले सन्देश दिएको उहाँको भनाइ छ । 

बैतडीको महारुद्रमा रहेको खानीबाट फलाम उत्खनन गरेर मेलौली भगवती र त्रिपुरासुन्दरी भगवतीलगायतका मन्दिरमा स्थानीय लोहार (विश्वकर्मा) जातिका कालीगढले हिङलो निर्माण गरेको उहाँले बताउनुभयो ।  

हिङलोमा पिङ खेल्न दशैं अघिपछि पनि सबैलाई खुला रहेको त्रिपुरासुन्दरी मन्दिर बैतडीका पुजारी हेमराज लेखकले बताउनुभयो । पुजारी लेखकका अनुसार सुदूरपश्चिममा १४ औँ शताब्दीमा स्थापना भएका भगवती मन्दिरसँगै हिङलोको स्थापना भएको भनाइ छ ।