• १३ साउन २०८१, आइतबार

एमाले अध्यक्ष ओली जनकपुर–जयनगर रेलमा सरर

blog

रेलमा यात्रा गर्नुहुँदै एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असोज ८ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गर्नुभएको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ मा पर्ने विदेह नगरपालिकामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जानेक्रममा उहाँले नेपालको एक मात्र जनकपुर–जयनगर रेल चढेर यात्रा गर्नुभएको हो । 

पूर्व प्रधानमन्त्री ओली नेतृत्वको सरकारले धनुषाको कुर्थादेखि जनकपुरधाम हुँदै भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि रेलको दुई वटा इन्जिनसहितको वोगी भारतबाट खरिद गरेको थियो । ओली धनुषा आएकोबेला रेलको यात्रा गर्नुभएको एमाले केन्द्रीय सदस्य सञ्जीव झाले जानकारी दिनुभयो । पूर्व प्रधानमन्त्री रेल यात्रा गर्ने भएपछि शनिबार एक घण्टा ढिलो गरी रेल जनकपुरधामबाट भारतको जयनगरसम्मका लागि प्रस्थान गरेको थियो । 


पूर्व प्रधानमन्त्री ओली धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन तेस्रो स्टोपिज   महिनाथपुरसम्मको यात्रा गर्नुभएको हो । उहाँसँग रेल खरिदमा मन्त्रालयबाट पहल गर्नुभएका तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, पूर्वमन्त्री एवम् एमालेका नेत्री जुली महासेठसहितका नेताहरू रेलमा यात्रा गर्नुभयो । 

एमालेले नेपाल रेल्वे कम्पनीबाट ५६ वटा एसी क्लास तथा ८६ वटा साधारण वोगीको रेलका टिकट खरिद गरी ओलीलाई रेलको यात्रा गराएको थियो । जनकपुरधामको रेल्वे स्टेसनमा पूर्व प्रधानमन्त्री ओलीलाई रेल्वेका महाप्रबन्धक निरञ्जन झासहितका रेल्वेका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो । अहिले जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन भइरहेको छ ।  


कालो झण्डा प्रदर्शन

यता जनकपुर विमानस्थलबाट जनकपुरधामको रेल्वे स्टेसनमा रेल चढ्न गएको वेला रेल्वे स्टेसन नजिक जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरूले नागरिकता विधेयकमा एमालेले सहयोग नगरेको भन्दै कालो झण्डासहित प्रदर्शन गरेका थिए । 

मधेशीलाई नागरिकताबाट वञ्चित गरेको भन्दै कालो झण्डा देखाएको सो दलका कार्यकर्ताहरूको भनाइ छ । कालो झण्डा देखाउनेलाई प्रहरीले किनारा लगाएको थियो । 


पार्टी प्रवेश कार्यक्रम

धनुषाको कार्यक्रममा सहभागी हुन एमालेका अध्यक्ष ओली आउने भएपछि जनकपुरधामको सुरक्षा व्यवस्था आज बिहानदेखि कडा बनाइएको थियो । धनुषाको तिनकौरिया चोकमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा लोसपाका सचेतक उमाशङ्कर अरगरियासहित नेपाली कांग्रेस, माओवादी केन्द्र पार्टीबाट तीन हजारको सङ्ख्यामा नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले विदेह नगर कमिटीका अध्यक्ष एवम् एमालेका युवा नेता लखन दासले जानकारी दिनुभयो ।