• १३ साउन २०८१, आइतबार

पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सूर्योदयमा फोटो प्रतियोगिता

blog

पशुपतिनगर(इलाम) असोज ५ गते । विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता गर्ने भएको छ । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको हो ।

सूर्योदय नगरपालिकाले पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका इन्जिनियर सृजन गदालले जानकारी दिनु भयो ।


प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० र तृतीय हुनेले ५ हजार रुपियाँ प्राप्त गर्नेछन् । सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान गर्न सक्ने फोटो माग गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो। सहभागीले बढीमा ५ वटासम्म फोटो पठाउन सक्नेछन् । फोटोसँगै कम्तीमा ५० शब्दको विवरण समेत लेख्नु पर्ने नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले ड्रोनबाट खिचेको तस्बिरलाई प्रतियोगितामा सहभागी नगराउने जनाएको छ । असोज ९ गते राति १२ बजेसम्म फोटो पठाउने मिति तोकिएको छ । नगरले फर्म भरेर फोटो पठाउन आह्वान समेत गरेको छ । फोटो सूर्योदय नगर क्षेत्रमा रहेका विभिन्न स्थानको २०७९ साल भित्र खिचेको हुनु पर्ने नगरका सूचना प्रविधि अधिकृत उज्ज्वल सुवेदीले जानकारी दिनु भयो ।प्रयोग भैसकेको फोटो प्रतियोगितामा सहभागी गराइने छैन । 


नगरमा कन्याम, अन्तु, बुद्धपार्क , स्वामीपार्की , चित्रे गुम्बा लगायतका दर्जनौँ पर्यटकीय स्थल रहेका छन् । यस अघि नै प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नु भयो‘ पर्यटकीय स्थलको थप  प्रवर्धन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो ।’




Author

प्रेम अधिकारी