• १३ साउन २०८१, आइतबार

याङ्री र लार्केको पानी बाँड्न ठूला पाइप बिच्छ्याउन सुरु

blog

काठमाडौँ, असोज ५ गते । मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप बिच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमि दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ सय मिलिमिटर (एमएम)का ठूला पाइप बिच्छ्याउन थालिएको हो । 

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म वि.सं. २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप बिच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

दोस्रो चरणमा एक हजार छ सय र एक हजार आठ सय मिलिमिटरका पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले जानकारी दिनुभएको छ । 

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमि नयाँ पाटीसम्म एक हजार आठ सय मिलिमिटरको पाइप बिच्छ्याइने छ । साढे दुई किलोमिटरभन्दा तल चाबहिलसम्म करिब आठ किमि दूरीमा भने एक हजार छ सय मिलिमिटरको पाइप बिच्छ्याइनेछ । याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको उहाँले सुनाउनुभयो । वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ ।

हवास उई कन्काई कम्पनी जेभीले पाइप बिच्छ्याउने कामको ठेक्का पाएको छ । सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ । दुई अर्ब ८८ करोड रुपियाँको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप बिच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप बिच्छ्याइनेछ ।