काठमाडौं, असोज १ गते ।
बिरामीलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी लैजाँदै : बझाङको खप्तडछान्ना गाउँपालिकाको छान्नाबासीले बिरामीलाई स्ट्रेचरमा बोकेर तमैल बजारमा रहेको स्वास्थ्य चौकीमा लैजाँदै ।
बन्जी पुल र कुश्मा बजारको दृश्य : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल । पुल पारी कुश्मा बजारको दृश्य।
चर्खामा धागो काढ्दै वृद्धा : पोखरा माटेपानीकी जुनामाया गुरुङ चर्खामा धागो काढ्दैै । पछिल्लो समय ऊनलाई चर्खामा घुमाएर धागो निकाली राडीपाखी र अन्य कपडा बनाउने प्रचलन लोप हुँदै जान थालेको छ ।
खुलेको आकाश र हरियालीको दृश्य : जयपृथ्वी नगरपालिकाको जोशीगाउँबाट देखिएको पणेश, गोलाइ, बाझगाउँलगायतका स्थानको हरियाली र खुलेको आकाशको दृश्य ।
मनै लोभ्याउने रारा ताल : आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल । नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा, १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।
पर्यटक : मानसरोवर कैलाशको दर्शन गर्न हुम्ला पुगेका पर्यटक सिमकोट लाग्नामा दृश्य अवलोकनका साथै मनोरञ्जन लिँदै ।
ग्वारखोला पुल : दाङको तुलसीपुरस्थित ग्वारखोलामा कपडादेवी जहदा जोड्ने पुल । पुल निर्माण भएपछि स्थानीयलाई आउजाउमा सहज भएको छ ।
ग्राहकको प्रतिक्षामा भाँडा व्यापारी : मोरङको बेलबारी बजारको सडक छेउमा माटाको भाँडा बिक्री गर्न ग्राहकको प्रतीक्षामा बसेका व्यापारी । केराबारी–९, देवी वझोडाका व्यापारी देवनारायण पण्डितले पूर्खेली पेसाको रुपमा यस कामलाई अङ्गालेर घर खर्च टार्दै आएका छन् ।
याक गोठ : समुद्र सतहदेखि चार हजार २०० को उचाई पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ ।
मकै भण्डारण : म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा घरको धुरीको टेकोमा झुण्डाएर राखिएको मकैको झोता । ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ ।
मेलम्ची खोला : हेलम्बू गाँउपालिका १ चिउरीखर्कबाट देखिएको मेलम्ची खोला ।
विक्रीका लागि राखिएको हिमाली जडीबुटी : बेलबारीको सोमबारे बजारमा बिक्रीका लागि राखिएको हिमाली जडीबुटी । विशेष गरी शेर्पा जातीले जडिबुटी विक्री वितरण गर्ने गरेका छन् । तस्बिर : रासस