• ८ मंसिर २०८१, शनिबार

चिनेजानेकाबाटै असुरक्षा

blog

सञ्चारमाध्यममा दिनहुँजसो बलात्कार, जबरजस्ती करणी तथा यौनजन्य गतिविधिका घटनाले स्थान पाइरहेको देखिन्छ। कलाकार, खेलाडी, शिक्षकदेखि लिएर नातातर्फ हेर्दा बा, हजुरबा, दाइ, मामा, काका, छिमेकी पनि पिडकको रूपमा यस्ता घटनामा संलग्न भएका देखिन्छन्। जसले गर्दा नाबालक छोरी, किशोरी, महिला अनि वृद्ध आमाहरू पनि हरेक स्थानमा आफूलाई असुरक्षित भएको महसुस गरिरहेका हुन्छन्।

घटनाक्रम हेर्दा महिलाका लागि सुरक्षित स्थान कुन हो भन्ने प्रश्न उब्जिन्छ। घर, विद्यालय, कार्यालय, सार्वजनिक यातायात जहाँ कहीँ पनि महिला पीडित बनेका छन्। शौचालयमा गएका अपाङ्गता भएका महिला, आँगनमा खेल्दै गरेकी नाबालिका, सँगै बसेर टेलिभिजन हेरिरहेकी बहिनी, सामाजिक सञ्जालबाट नजिकिएकी साथी, शिक्षा आर्जन गर्न विद्यालय गएकी छात्रा, पेसा वा रोजगारीका कारण सँगै काम गर्ने कर्मचारी, यो वा त्यो बहानामा सहयोगको अपेक्षा गरिरहेकी महिला पीडित भएका घटनाक्रमले देखाउँछन्। यस्ता घटनाका पिडकहरू क्षणिक आवेगमा आएर इज्जत, अनुशासन, दायित्व तथा नैतिकताको धरातल नै बिर्सिएर आपराधिक गतिविधिमा संलग्न भएका देखिन्छन्।

बलात्कारका प्रयास एवं घटनाको कारण सबैको एउटै पक्कै छैन र हुँदैन पनि। व्यक्ति विशेषमा हुने साइको सेक्सुअल डिसअर्डर, डिमेन्सीया, मेनिया, पिडोफेलियाजस्ता मानसिक समस्या एवं जाँडरक्सीको सेवनका कारण पनि व्यक्ति स्वनियन्त्रित हुन नसकी बलात्कार गर्ने वा प्रयास गर्ने गर्दछन्। बलात्कार हुनुमा प्रमुख कारक व्यक्ति नै हुन्छ यद्यपि कतिपय घटना सामूहिक आवेगमा आएर पनि भएका छन्। यसरी गलत व्यवहार हुनुमा व्यक्तिमा निहित मानसिक समस्यासँगै अन्य सामाजिक परिवेश, मौलाउँदै गएको विकृति, स्वार्थ प्रेरित निकटता तथा सामाजिक सञ्जालको अनावश्यक प्रयोगसमेत रहेका छन्।

पछिल्लो समयमा सामाजिक रूपमा फेरिँदै गएको जीवनशैलीले पनि विकृति जन्माएको छ। उत्पादनमुखी संस्कृति लोप हुँदै उपभोगमुखी संस्कृतिले प्रश्रय पाउनु, उब्जाएर खानुभन्दा किनेर खानुमा सान देख्नु अनि मानिस कर्मयोगी नभई फुर्सदिलो रहनुले पनि समयको सदुपयोग गर्न तर्फभन्दा अनावश्यक कर्ममा संलग्न भएका केही मानिस यस्ता जघन्य अपराधमा संलग्न 

भएका हुन्छन्। 

अधिकांश कामकाजी मानिस व्यस्त कार्यतालिका रहन्छन्। समयको सही सदुपयोग गर्नतर्फ उद्दत रहन्छन्। उनीहरूलाई खराब कार्यतिर उन्मुख हुने कुनै चासो रहँदैन तर कामविहीन केही व्यक्तिहरू व्यक्तिगत एवं सामूहिक रूपमा खराब गतिविधिमा लाग्ने गर्दछन्।

पछिल्लो समयमा अधिकांश व्यक्ति सामाजिक सञ्जालको पहुँचमा छन्। केही व्यक्ति सामाजिक सञ्जालको प्रयोगमार्फत अनावश्यक नजिक हुने, लुकीछिपी भेटघाट गर्ने, शारीरिक सम्बन्ध राख्नेसमेत गर्दछन्। कसैले थाहा पाउने अवस्थाको सिर्जना हुने, वैवाहिक सम्बन्धमा बाँधिने अवस्था नहुने वा अन्य स्वार्थपूर्ति हुन नसक्दा घटना सार्वजनिक हुने गरेका देखिन्छन्। अहिलेको युगमा प्रविधिले युगान्तकारी परिवर्तन गरी मानिसको जीवनमा सहजता ल्याउनु ठूलो उपलब्धि हो यद्यपि यसैको गलत प्रयोगले मानिस आपराधिक कार्यमा संलग्न हुनु डरलाग्दो अवस्था हो।

अनावश्यक र भ्रामक समाचार, मानिसलाई उत्तेजित बनाउने किसिमका लेख, चित्रहरू, भिडियो तथा सङ्केतले पनि सामाजिक सञ्जालमा स्थान पाउँदा मानिसहरू खराब बाटोतर्फ हिँड्न पुगेका छन्। जुनसुकै तह र तप्काका मानिस किन नहुन् यस्ता खराब सामग्रीले उनीहरूलाई नकारात्मक बनाउँदै खराब व्यवहार गर्न उक्साहट गराउँछ। अझै भन्नुपर्दा पछिल्लो समयमा त केही बालिका एवं महिलाहरू अनलाइन यौन दुव्र्यवहारमा परेको समेत घटना बाहिर आएका छन्। कसैको फोटो दुरुपयोग भएको त कसैको फेक अकाउन्ट खोलेर अनावश्यक अश्लील म्यासेज पठाउने खालका घटना पनि भइरहेका छन्। फेसबुक पेजमा महिला तथा किशोरीले कुनै स्टाटस लेखेकै कारण पनि उसको अवस्था थाहा पाउनेहरूले एक्लो पारेर यौनजन्य हिंसा गर्न पुग्दछन्।

किशोरावस्थाका किशोर एवं किशोरीहरू भविष्य नसोची वर्तमानमा रमाउने गरी अपरिपक्व तबरले निर्णय लिन पुग्दा पनि यौनजन्य गतिविधिमा संलग्न हुन पुग्छन्। कतिपय किशोर किशोरी तथा महिला पुरुष लिभिङ टुगेदरमा रहने पश्चिमा प्रवृत्तिका कारण पनि यौनजन्य दुव्र्यवहार तथा बलात्कारका घटनामा कमी आउन सकेको छैन। घरबाहिर निस्कनु, घुम्नु, पिउनु, रमाउनु अनि मस्ती गर्नुलाई अहिले ठूलो उपलब्धिको रूपमा लिने चलन छ। रेमिट्यान्सले पनि मानिसलाई क्रमिक रूपमा उपभोगमुखी बनाइरहेको छ।

विगतमा अधिकांश परिवार संयुक्त नै थिए। बालबालिका संयुक्त परिवारमै हुर्किन्थे, पारिवारिक संरक्षण दरिलो थियो। अहिले अधिकांश एकल परिवारमा बस्ने परिपाटी रहेको हुँदा पारिवारिक नियन्त्रण र रखवारीको अभावले पारिवारिक जग मजबुत हुन सकेको छैन। एकल परिवार अझै त्यसमा पनि श्रीमान् या श्रीमती वैदेशिक रोजगारीमा जानुले पनि परिवारका सदस्य झनै थोरै हुन पुगेका छन्। 

परम्परागत नै भए पनि पारिवारिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक संस्कारबाट मानिस टाढा हुँदै गएका छन्। जसले गर्दा व्यक्तिगत निष्ठा, इमानदारीता, नैतिकता अनि संवेदनशीलतामा ह्रास हुँदै गइरहेको छ। यस्तो परिवेशले मानिसको आचरणमा खलल पु¥याएर जे गर्न पनि तयार हुने दिशातर्फ मोडेको देखिन्छ। कुनै पनि व्यक्तिको कलाकारितालाई बाहिर ल्याइदिने निहुँ होस् या जागिर लगाइदिने वा जागिरमा संलग्न गराइदिएको नै किन नहोस् यौनजन्य गतिविधि भएका घटना बाहिर आएका देखिन्छन्। पटक पटक दुव्र्यवहार गरेपश्चात् जबरजस्ती करणी वा बलत्कार जस्ता आपराधिक कार्यमा व्यक्ति संलग्न हुन पुग्छ। तसर्थ, सम्बन्धित किशोरी या महिलाले कस्तो नियतले अरूले आफूलाई सहयोग गर्छ या गर्छु भन्ने आश्वासन प्रदान गर्दछ त्यो हेक्का राख्न सक्नुपर्दछ। सकेसम्म अरूले प्रदान गर्ने चारो या आहारमा फँस्नु हुँदैन।

अधिकांश घटनामा जोखिमको पूर्वआकलन गरिएको पाइँदैन। त्यसो त पुरुषले दुव्र्यवहार गर्न सक्छन् भनेर छोरी वा महिला सधँै सजग हुनुपर्छ भन्ने पनि होइन, यसमा पूरा दायित्व पुरुषको हुन्छ नै यद्यपि पुरुष स्वयं संवेदनशील नभई कहिलेकाहीँ पशुवत व्यवहार गर्न सक्ने कुरालाई महिलाले मनन गर्नैपर्दछ। नाबालक वा अपाङ्गता भएको हकमा बाहेक अरू महिलाले आफूप्रति अरूले गर्नसक्ने दुव्र्यवहार अर्थात् आइपर्ने जोखिमको पूर्वानुमान गरी त्यस्ता समस्याबाट टाढा रहन सक्नुपर्दछ। परिवारले पनि अशक्त र बालबालिकाको हकमा आवश्यक संरक्षण र उचित हेरचाह 

प्रदान गर्नुपर्दछ।

नेपाली समाजमा पीडक र पीडितलाई हेर्ने, बुझ्ने अनि गर्ने व्यवहार ठीक उल्टो छ। जो पीडामा परेको छ, जसलाई अरूले दुव्र्यवहार गरेको छ उसैलाई नै समाजले गलत रूपमा व्याख्या गरिरहेको हुन्छ। पीडकलाई केही समय थुनामा राख्नुपर्ने अवस्थामा पनि पूरै समाज उल्टिएर नाराबाजी गर्न पुग्दछन् अनि थुनामुक्त हुँदा निजले ठूलो आविष्कार र उपलब्धि गरेझैँ फूलमाला र अबिरले सम्मान गरेर बाजागाजा बजाउँछन्। 

फेरि सामाजिक सञ्जालमा प्रयोगकर्ता सबै न्यायाधीश बनेर पीडितको पीडालाई कथा, गीत, कविता, गजल, हाइकुमार्फत फैसला सुनाइरहेका हुन्छन्। वास्तविकता बुझ्ने, अदालतको फैसलासम्म कुर्ने धैर्यता अधिकांश व्यक्तिको देखिँदैन।

जो सजग र सतर्क रहन्छन्, क्षणिक रमाइलो र रोमान्सको पछाडि लाग्दैनन् अनि संयमित रहेर आफ्नो कर्ममा लाग्छन् उनीहरू आफ्नै कारण यस्ता समस्यामा पर्दैनन् तर ठीक बेठीक छुट्याउन नसक्ने अनि अवस्थाको विश्लेषण गर्न नसक्ने केही छोरी र महिला भने समस्यामा परिरहेका छन्।

अर्कोतर्फ, सचेत रहँदारहँदै पनि कतिपय महिला, बालिका र किशोरी पुरुषको गलत व्यवहारको आक्रमणमा पर्ने गरेका छन्। त्यसैले जबरजस्ती करणी, हाडनाता करणी तथा यौनजन्य दुव्र्यवहारका घटनाको अन्त्यका लागि व्यक्ति, परिवार, समाज र राज्य सबैको ऐक्यबद्धता अपरिहार्य छ। राजनीतिक आडमा कुनै पनि पीडकले उन्मुक्ति पाउने अवस्था नरहने, राज्यले घटनाको यथार्थ र गहन विश्लेषण गरी न्याय निरूपण गर्ने हो भने मात्र पनि यस्ता घटनामा उल्लेख्य कमी आउने थियो। 

लेखक हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख हुनुहुन्छ।