• १३ साउन २०८१, आइतबार

दशैं नजिकिएसँगै फस्टाउँदै सीमापारीका बजार

blog

सुनौली बजारमा सामान किनमेल गरेर फर्किदै नेपाली । तस्बिरः लक्ष्मण पौडेल

भैरहवा, भदौ २५ गते । दशैं नजिकिँदै गर्दा स्थानीयहरू सीमापारि सुनौली बजारमा सामग्री किनमेलका लागि जानेक्रम बढेको छ । नेपाली बजार महँगो भन्दै सस्तो पाइने आसमा स्थानीयहरू सीमापारि जानेगरेका छन् । 

दशैंका लागि कपडा किन्न सुनौली पुग्नुभएकी पाल्पाकी समिता दवाडीले सस्तो पाइने भएकाले सुनौलीमा आएको बताउनुभयो । विगत वर्षभन्दा यस पटक सुनौलीमा पनि महँगी बढेको उहाँले अनुभव सुनाउनुभयो । “रुस–युक्रेन युद्धलाई कारण देखाएर भारतीय बजारमा पनि महँगी बढेको छ” उहाँले भन्नुभयो ।

सुनौलीमा रहेका करिब छ सय पसलेले चाडपर्वका बेला राम्रो व्यापार गर्नेगरेका छन् । भारतको उत्तर प्रदेश, महाराजगन्ज जिल्लामा पर्ने सुनौली बजारमा सबै सामान पाइने भएकाले नेपालीहरू सस्तोको लोभमा सीमापारि दौडिन्छन् । विवाह, व्रतबन्ध र चाड पर्वमा चाहिने चिजबिजदेखि दैनिक उपभोग्य बस्तुसम्म किन्न नेपाली उपभोक्ताको ओइरो लाग्छ ।

लत्ताकपडा, भाँडाकुँडा, जुत्ता–चप्पल, इलेकट्रोनिक्स, खाद्यान्न, तेल, चिनी, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिसदेखि कुर्ता–सलवार, साडी, थानका कपडासम्म किन्न नेपाली उपभोक्ता सुनौली बजार जान्छन् ।

लत्ताकपडा, भाँडाकुँडा, जुत्ता–चप्पल, इलेकट्रोनिक्स, खाद्यान्न, तेल, चिनी, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिसदेखि कुर्ता–सलवार, साडी, थानका कपडासम्म किन्न नेपाली उपभोक्ता सुनौली बजार जान्छन् । साबुन, स्याम्पु, कापी–कलम, कस्मेटिकका सामान, तार, बल्ब, साइकल, टायर, ट्युब, पङ्खा, पानी तान्ने मोटर, टिभीलगायतका सामान पनि सुनौलीमा बढी बिक्छन् ।

कोरोना महामारीपछि सुनौलीमा नेपाली उपभोक्ताको चाप केही मात्रामा घटेको छ । ३० वर्षदेखि किराना व्यापार गर्दैआएका इस्तफुर रहमानले सीमाको बजारप्रति दुवै तर्फको सरकारी नीतिले सुनौलीमा व्यवसाय फैलिन नपाएको बताउनुभयो । सीमा बजारमा कालोबजारी मात्र हुन्छ भन्ने भ्रमका कारण व्यवसाय बढ्न नसकेको उहाँको बुझाई छ ।

सीमा बजार भएकाले नेपालको सबै चाडपर्वमा आफू व्यस्त रहने उहाँले बताउनुभयो । कस्मेटिक व्यापारी सुरवीर मेहेताले कोभिड महामारीपछि व्यापार सुस्ताएको बताउनुभयो । “रोगको डरले होला, आय घटेर पनि होला, महामारीअघिजस्तो नेपाली ग्राहक अहिले छैनन्” उहाँले भन्नुभयो । 

कपडा स्टोर उत्तमश्री कलेक्सनका सञ्चालक नन्द गोपालका अनुसार सुनौली बजारको ९० प्रतिशत ग्राहक नेपाली हुन् । वारी र पारीको मूल्यअन्तरका कारण धेरै नेपाली सुनौली बजार आउनेगरेको उहाँले सुनाउनुभयो । 

नेपाली उपभोक्ताहरू रुपन्देही, पश्चिम नवलपरासी, चितवन मात्र नभई अर्घाखाँची, गोरखा, कास्की, बागलुङ, पाल्पा, स्याङ्जा, गुल्मीलगायत पहाडी जिल्लाबाट पनि सामान खरिदका लागि सुनौली आउनेगरेको सुनौली कपडा सोरुमका सञ्चालक सञ्जय मोरीले बताउनुभयो । 

सुनौलीकै कारण भैरहवामा मूल बजारबाहेक अन्यत्र बजार फस्टाउन सकेको छैन । आर्थिक केन्द्रका रूपमा लम्किरहेको भैरहवालाई सीमापारि बजार चुनौती भएको व्यवसायी बसिर मोहम्मदले बताउनुभयो । 

आर्थिक केन्द्रका रुपमा लम्किरहेको भैरहवालाई सीमापारि बजार चुनौती भएको व्यवसायी बसिर मोहम्मदले बताउनुभयो । 

भैरहवाबाट बेलहिया जाने रिक्सा, अटो र बस चल्ने भएकाले सुनौली पुग्न कुनै असुविधा नरहेको स्थानीयको भनाई छ । सुनौलीबाट एक हजार रुपियाँ बराबरका घरायसी समान लिएर आउँदा भन्सारमा रोकावट पनि नहुने उपभोक्ताले बताउनुभयो । 

हजार रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सारमा सामान्य प्रज्ञापनपत्र भर्नुपर्ने नियम रहेको छ । यसले गर्दा पनि धेरै नेपाली सामान खरिदीका लागि सुनौली, नौतनवा, रक्सौल पुग्छन् । 

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमकार गौचनले घरायसी सामान किनमेलका नाममा सीमापारि जाने नेपाली उपभोक्ताको प्रवृत्ति निरुत्साहित गर्न गर्नुपर्ने बताउनुभयो । नेपाली उपभोक्तालाई सम्झाउन नसक्दा सीमापारिको व्यवसाय फस्टाउने र नेपाली बजार खुम्चिँदै जान थालेको उहाँले बताउनुभयो ।

दैनिक कति सङ्ख्याका नेपाली सामान किन्न सुनौली बजार पुग्छन् भन्नेबारे यकिन तथ्याङ्क नभए पनि चाडपर्वका बेला दैनिक करिब पाँच हजार नेपाली सीमापारि पुग्ने र दैनिक पाँच करोड रुपियाँ बराबरको खर्च गर्ने गरेको संघका पदाधिकारीको अनुमान छ ।

Author
लक्ष्मण पौडेल

उहाँ गोरखापत्रका लागि भैरहवाबाट रिपोर्टिङ गर्नुहुन्छ ।