• १३ साउन २०८१, आइतबार

दार्चुला बाढी पहिरो अपडेट : मृतक पाँच जनाको सनाखत, सात बेपत्ता

blog

महाकाली र लास्कुखोलामा आएको बाढी । तस्बिर: : लोकेन्द्र जोशी

खलङ्गा, भदौ २५ गते । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली –३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका –१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।

पहिरोमा परी नौगाड –४ का रामसिंह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्ना घाइते छन् । उनीहरूलाई सुर्खेतबाट आएको नेपाली सेनाको  हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उहाँले बताउनुभयो ।

यस्तै, बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्तामा महाकाली –३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।