• १३ साउन २०८१, आइतबार

बीपीको सम्झनामा वृक्षरोपण

blog

लहान समाचारदाता

लहान, भदौ २५ गते । नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको १०९ औँ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस सिरहा १ (क) प्रदेश समितिले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको खुला मैदानमा वृक्षरोपण गरेको छ। 

नेपाली कांग्रेसको वैचारिक र सङ्घर्षशील नेता बीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल सिद्धान्तमा कांग्रेस अघि बढ्नुपर्ने वृक्षरोपण कार्यक्रममा कांग्रेसका युवा नेताहरूले धारणा व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस सिरहा १ का क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश चौधरीले बीपी कोइरालाको आदर्श, सिद्धान्त र दृष्टिकोणलाई छाड्न नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “कांग्रेस देशको पुरानो पार्टी मात्रै होइन, लोकतन्त्रको पर्यायवाचीसमेत रहेकोले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न बीपीको विचारलाई अघि सारेर जानुपर्छ।”

पर्यावरणको रक्षा रुख रोपेर मात्रै सम्भव भएकोले रुख रोपौँ, पर्यावरण जोगाऔँ र नेपाली कांग्रेसलाई जिताऔँ भने मूल नाराको साथ अघि बढ्नुपर्ने नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा लहान–१३ का वडाध्यक्ष मनोजकुमार कोइरालाले धारणा व्यक्त गर्नुभयो। 

बीपी कोइराला नेता र साहित्यकार दुबै भएकोले उहाँले नेपाली साहित्यमा गर्नुभएको योगदानलाई समेत कदर गर्न उहाँको लेख रचनाहरू पढेर कांग्रेसका नेताहरू समाजवादको पक्षमा लाग्न अर्का युवा नेता विष्णु साह बनियाँले सुझाव दिनुभयो। 

लहान क्याम्पसको हाताभित्र वृक्षरोपण कार्यक्रम गरेर राम्रो सन्देश दिएको निमित्त क्याम्पस प्रमुख सञ्जय चौधरीले बताउनुभयो। कार्यक्रम सिरहा–१ (क) प्रदेशका सभापति सन्तोष उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो।