• १६ भदौ २०८१, आइतबार

व्यापारिक भवन भत्काएर उद्यान बनाउन माग

blog

अमरराज नहर्की

तनहुँ, भदौ २४ गते । व्यास नगरपालिका–२, गणेशमान चोकस्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाइएका व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग उठेको छ।

सो स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू भत्काउनुपर्ने माग राखिएको स्थानीय जनप्रतिनिधि सदस्य सुरेश वाग्लेले बताउनुभयो। उहाँको नेतृत्वमा स्थानीयसहित १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग राख्दै जिल्ला समन्वय समितिमा मङ्गलबार ज्ञापनपत्र बुझाएको छ।

विभिन्न टोलका अध्यक्ष, सचिव, एवं विभिन्न समूह र क्लबका प्रतिनिधिले संयुक्त रूपमा माग राख्दै वडाध्यक्ष काशीराम श्रेष्ठको रोहवरमा वडा सदस्य वाग्लेले समन्वय प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाउनुभयो। पहिलो पटक सम्झौता अवधि पाँच वर्षका लागि भएको आवश्यकताअनुसार तीन/तीन वर्षमा थप्न सकिने भनिएकोमा पुनः दुई पटक थप भइसकेको र सम्पूर्ण टोलवासीले फेरि पनि अन्तिम पटक सम्झौता गर्ने वातावरण नहोस् भन्नका लागि ज्ञापनपत्र बुझाइएको वडा सदस्य वाग्लेले बताउनुभयो। 

आपत्विपत् र प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सो स्थान खाली गरी बाल उद्यान निर्माण गर्न ज्ञापनपत्रमा माग राखिएको छ। सो क्षेत्रमा करिब चार रोपनी जग्गा रहेको छ। त्यस ठाउँमा बुधबारे हाट बजार लाग्ने गथ्र्यो। 

२०६९ साल असार ३१ गते तत्कालीन जिल्ला विकास समिति र व्यास नगरपालिका–४ का दिपेश बस्नेतबीच भएको व्यापारिक सम्झौता गरी खुला स्थानमा व्यापारिक भवन बनाइएको थियो। खुला कतै छैन, जताततै भौतिक संरचना छन् भुइँचालोलगायत अन्य प्राकृतिक प्रकोप गयो भने बस्ने ठाउँ छैन। त्यही भएर भत्काउनुपर्ने माग राखिएको स्थानीयले बताएका हुन्। 

सो ट्रेड सेन्टरको सम्झौता २०८० सालको असार मसान्तमा स्वतः सकिएपश्चात् जिल्ला समन्वयको मातहतमा हुने र पुनः सम्झौता पनि नगर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो। “साबिक जिल्ला विकास समिति हुँदा नै सम्झौता भएको र अवधि सकिएपछि स्थानीय बासिन्दासँग छलफलबाट स्थानीयको हितमा प्रयोग गर्छौं,” समन्वय प्रमुख वाग्लेले भन्नुभयो। 

सोही वडामा रहेको डाङ्ग्रे खोल्सीको सार्वजनिक जग्गा अतिक्रमणमा परेपछि केही समयअघि डोजर लगाएर भत्काइएको थियो। सो स्थानको सुरक्षाका लागि पर्खाल, घेरबार बनाउनका लागि बजेट छुट्याइएको वडा सदस्य वाग्लेले बताउनुभयो।