• ९ मंसिर २०८१, आइतबार

आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्छु : अध्यक्ष दाहाल

blog

काठमाडौं, भदौ २३ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ। 

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो। 

उहाँले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनु भयो। अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पार्नुभयो। 

उहाँले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानुनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्याउने दाबी गर्नुभयो। 

अध्यक्ष दाहालले भन्नुभयो, ‘‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं। अब देश विकासको निम्ति वातावरण तयार भएको छ। अहिले नेपालमा जुन परिवर्तन आएको छ। राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रकोसामु पनि राजनीतिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत ग¥यौं। अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ।’’

अध्यक्ष दाहालले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताउनु भयो। उहाँले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्त्व दिएको दाबी गर्नुभयो। उहाँले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताउनु भयो।

अध्यक्ष दाहालले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर बन्दै गएको उल्लेख गर्दै सहकार्यमा निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ भइरहेको बताउनु भयो।