• १३ साउन २०८१, आइतबार

मिटरब्याजी पीडितबाट न्यायको माग

blog

बोदेबर्साइन समाचारदाता

बोदेबर्साइन (सप्तरी), भदौ २३ गते । न्यायको माग गर्दै बुधबार राजविराजमा मिटरब्याजी सङ्घर्ष समिति सप्तरीले प्रदर्शन गरेको छ। सयकडा तीनदेखि छ रुपियाँसम्म ब्याजमा ऋण लिएर तिर्न नसकेका तथा तिरेर पनि साहुको नाममा रहेको धितोबापतको घरजग्गा फिर्ता नपाएका सप्तरीमा सयौँ पीडित रहेका छन्। 

पैसा तिरेर पनि अदालतमा कागज लगाएर साहुले दुःख दिँदै आएको बोदेबर्साइन–१० का सनिचरी देवीले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयअगाडि ‘कपाली तमसुक खारेज गर’ साहुहरूले कब्जा जमाएका गरिबका घरजग्गा फिर्ता गर’ जस्ता नारा लगाउँदै मिटरब्याजी पीडितले न्यायको माग गरेका छन्। मिटरब्याजको समस्या समाधानको निम्ति सरकारद्वारा गठित मिटरब्याजी समस्या छानबिन कार्यदलले काम थालेसँगै सप्तरीको मिटरब्याज पीडितहरूको सङ्घर्ष समितिले निरन्तर दबाब दिँदै आएको सङ्घर्ष समितिका श्रीलाल पासमानले बताउनुभयो।