• ११ असोज २०८१, शुक्रबार

पाँचथरबाट माओवादी केन्द्रले छान्यो सङ्घ र प्रदेशका उम्मेदवार

blog

माओवादीको तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि पाँचथर जिल्लाबाट सिफारिस हुनुभएको हर्कबहादुर नेम्वाङ। फाइल तस्बिर

राधा लुइटेल

फिदिम, भदौ २२ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को पाँचथर जिल्ला समितिले मङ्सिर २४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। 

बुधबार सम्पन्न जिल्ला समिति बैठकले छनौट गरेका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेश कार्य समितिमा पठाएको हो। उक्त पार्टीले हर्कबहादुर नेम्वाङ (मिक्सो) लाई प्रतिनिधि सभा सदस्य र प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ सिफारिस गरेको छ। 

नेम्वाङ माओवादी केन्द्रका एक नम्बर प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ। प्रतिनिधि सभामा समानुपातिकतर्फ नरबहादुर दुलालको नाम सर्वसम्मत चयन गरिएको जिल्ला समन्वय संयोजक होमबहादुर जवेगुले जानकारी दिनुभयो।

प्रदेशसभा (क) बाट मिक्सोसहित सीता थेबे र लालबहादुर गुरुङको नाम सिफारिस भएको उहाँले जानकारी दिनुभयो। यस्तै प्रदेश सभा (ख) बाट एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र संखधोज नेम्बाङको नाम सिफारिस गरेको छ।

यस्तै प्रदेश सभाका लागि समानुपातिकतर्फ जुनु लावती, होमबहादुर जवेगु, विशाल रसाइली, पेम्बा शेर्पा र मेदनी खत्रीको नाम सिफारिस भएको छ। पाँचथरमा सत्तारुढ दलबिच गठबन्धन हुने लगभग निश्चित छ। जस अनुसार प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस र पाँचथर प्रदेश सभा (ख) मा माओवादी केन्द्रले उम्मेदवारी दिने तयारी छ। प्रदेश सभा (क) मा भने कांग्रेस वा नेकपा (एकीकृत समाजवादी) पार्टीको भागमा पर्ने टुङ्गो लागेको छैन। यसअघि कांग्रेस र एमालेले प्रतिनिधि र प्रदेश सभातर्फ चुनाव लड्ने नेताको नाम सिफारिस गरिसकेका छन्।