• ११ असोज २०८१, शुक्रबार

एमालेलाई गठबन्धनका कारण चुनौती छ : सचिव भट्टराई

blog

पत्रकार भेटघाट कार्यक्रममा धारणा राख्नुहुँदै नेता योगेश भट्टराई। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २२ गते । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा गठबन्धनका कारण एमालेलाई चुनौती रहेको बताउनुभएको छ। एमालेले धेरै स्थान (सिट) मा विजयी हासिल गर्दै बहुमत ल्याउने भए पनि गठबन्धनका कारण निर्वाचनमा चुनौती रहेको भट्टराईले बताउनुभयो।

सदरमुकाम फुङ्लिङमा बुधबार प्रेस चौतारी नेपाल जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले एमालेविरुद्ध अर्थात् सत्ता स्वार्थका लागि गठबन्धन भएको आरोप लगाउँदै चुनाव लड्नका लागि भने एमालेलाई चुनौती रहेको बताउनुभयो। उहाँले गठबन्धनले गर्दा एमालेलाई चुनौती भए पनि मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो।

ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटन मन्त्रीसमेत रहनुभएका नेता भट्टराईले बहुमत ल्याउने गरी सम्पूर्ण सामर्थ्य साथ एमाले निर्वाचनमा केन्द्रित भएको पनि बताउनुभयो। उहाँले सङ्घ र सातवटै प्रदेशमा बहुमत ल्याउने गरी तयारीका साथ एमाले निर्वाचनमा केन्द्रित भएको बताउनुभयो। एकताको भावनासहित एकमत भएर एमाले निर्वाचनमा होमिएको उहाँको भनाइ छ। 

यता ताप्लेजुङबाट नै चुनावमा उठ्नेगरी प्रतिनिधिसभा सदस्यका लागि आफ्नो सशक्त दाबी रहेको पनि उहाँले सुनाउनुभएको। आफू ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता भएकाले उम्मेदवारका लागि अन्तिमसम्म दाबी रहने बताउनुभयो। ताप्लेजुङबाट प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको जिल्ला उपसचिव दीपेन पोमुले जानकारी दिनुभयो। पोमुका अनुसार प्रतिनिधिसभाका लागि नेता भट्टराईसहित पाँच जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ।